कांग्रेस १५औं महाधिवेशन धादिङबाट सहमहामन्त्रीसहित १२ जनाको उम्मेदवारी दर्ता
36 पटक पढिएको
धादिङबेसी, २१ आश्विन । काठमाडौँमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि धादिङ जिल्लाबाट विभिन्न पदहरूमा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। पार्टीको केन्द्रदेखि विभिन्न समावेशी र भौगोलिक क्लस्टरहरूमा नेताहरूले उम्मेदवारी दिएका छन्।
निर्वाचन समितिको तथ्यांकअनुसार यसपटक धादिङबाट सहमहामन्त्री पदमा मात्रै ३ जनाको उम्मेदवारी परेको छ। जसमा खुलातर्फबाट रमेश धमला, आदिवासी जनजातीतर्फबाट दिलमान पाख्रिन र अपाङ्गता क्षेत्रबाट बाबुकृष्ण सापकोटाले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी, केन्द्रीय सदस्य पदका लागि विभिन्न क्लस्टरहरूमा समेत जिल्लाबाट उम्मेदवारी दर्ता भएको छ। खुला केन्द्रीय सदस्यतर्फ भीमप्रसाद ढुंगाना, मधुकुमार श्रेष्ठ, कृष्ण रिजाल, रिता थापा मगर र राधाकृष्ण भण्डारीले उम्मेदवारी दिएका छन्। त्यस्तै, महिला खुलातर्फ उर्मिला थपलिया, महिला खस आर्यतर्फ उर्मिला कँडेल, भूगोलतर्फ कविता इटनी र दलित क्लस्टरतर्फ रमेश विकले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएको बताइएको छ।
महाधिवेशनमा धादिङबाट एकसाथ धेरै नेताहरूले प्रमुख पदहरूमा उम्मेदवारी दिएसँगै अहिले गृहजिल्लामा चासो र चर्चा बढेको छ।







