रास्वपा सांसद खगेन्द्र सुनार गम्भीर विवादमा: महिला सांसदलाई धम्की, ब्ल्याकमेलिङ र आर्थिक रकम मागेको अडियो सार्वजनिक

113 पटक पढिएको

२७ आश्विन २०८३, मंगलवार ०६:५१ सम्पादक: धादिङ न्यूज

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार एकपछि अर्को गम्भीर विवादमा तानिएका छन्। बागमती प्रदेशकी एक पूर्वमहिला सांसद (पूर्वराज्यमन्त्री) माथि अश्लील गालीगलौज, धम्की तथा ब्ल्याकमेलिङ गरेको दाबी गरिएको अडियो सार्वजनिक भएपछि उनी विवादमा परेका हुन्।

सोमबार जनआस्था अनलाइनमार्फत सार्वजनिक चारवटा अडियो संवादमा सांसद सुनारले ती महिलालाई अश्लील शब्द प्रयोग गर्दै रकम माग गरेको, ज्यान मार्ने धम्की दिएको र निजी भिडियोमार्फत मानसिक तथा शारीरिक तनाव दिएको आरोप लगाइएको छ।

अडियो संवादमा ती पूर्वमहिला सांसदले सुनारले आफ्नो अश्लील भिडियो बनाएर निरन्तर कुटपिट र यातना दिँदै आएको गुनासो गरेकी छन्। यस्तै, निश्चित समयभित्र पैसा उपलब्ध गराउन दबाब दिइएको र राजीनामा दिएर पार्टीको संसदीय दलमा बुझाउन समेत निर्देशन दिइएको अडियोमा सुनिन्छ। पीडित महिलाले तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग पनि आफ्नो पीडा पोख्दै सुनारलाई सम्झाइदिन आग्रह गरेको समाचारमा उल्लेख छ। यस विषयमा पूर्वमुख्यमन्त्री पाण्डेले आफ्नो कार्यकालमा एक महिलाले यस्तै गुनासो लिएर आएको तर आरोपित व्यक्ति हालका सांसद सुनार नै हुन् भन्नेबारे आफूलाई जानकारी नभएको बताएका छन्।

समाचार अनुसार सांसद सुनारका विभिन्न बैंक खाताहरूमा भएका अस्वाभाविक वित्तीय कारोबारमाथि पनि प्रश्न उठेको छ। सिटिजन्स, एनआईएमबी र महालक्ष्मी बैंकमा रहेका उनका खाताहरूमा बेलायत, जापान, भारतलगायतका मुलुकहरूबाट लाखौँ रुपैयाँ जम्मा भएको देखिएको छ। तर, उक्त रकम कुन प्रयोजनका लागि आएको हो भन्नेबारे स्रोत खुलेको छैन।

घटना सार्वजनिक भएसँगै सांसद सुनारको मोबाइल फोन बन्द रहेको छ। यस विषयमा रास्वपाको आधिकारिक धारणा बुझ्न खोज्दा पार्टी प्रवक्ता जगदीश खरेलले तत्काल कुनै प्रतिक्रिया दिन अस्वीकार गरे। आफू काठमाडौँ बाहिर रहेको र घटनाको पूर्ण जानकारी पाएपछि मात्रै स्पष्ट पार्ने उनको भनाइ छ।

यसअघि प्रहरी पोसाक खरिद प्रकरण, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँगको विवाद, राजदूत नियुक्ति र गाईबारे दिएको अभिव्यक्तिका कारण पनि सुनार विवादित बन्दै आएका थिए।

सार्वजनिक भएको अडियोको स्वतन्त्र पुष्टि, कानुनी अनुसन्धान र सांसद सुनारको आधिकारिक भनाइ आउन बाँकी नै रहे तापनि, घटना सार्वजनिक भएपछि निष्पक्ष छानबिन र रास्वपाले चाल्ने कदमबारे चौतर्फी चासो बढेको छ।