बूढीगण्डकीको बाढीले आरुघाटका ५८ परिवार विस्थापित, होल्डिङ सेन्टरमा व्यवस्थापन
32 पटक पढिएको
धादिङ। धादिङ र गोरखा जोड्ने पक्की पुल बगाएको बूढीगण्डकी नदीको बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ आरुघाटस्थित स्याउलीबजारको सुकुम्बासी बस्ती पूरै बगाएको छ। बाढीबाट प्रभावित ५८ परिवारका घरटहरा पूर्ण रूपमा नष्ट भएको छ।
त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीका अनुसार बाढीले बस्तीको अस्तित्व नै नरहने गरी सबै घरटहरा बगाएको छ। विस्थापित परिवारलाई स्थानीय चुलीदेवी माध्यमिक विद्यालयमा स्थापना गरिएको होल्डिङ सेन्टरमा राखिएको छ।
“गाउँपालिकाले बिहानैदेखि होल्डिङ सेन्टरमा खानपिनको व्यवस्था मिलाएको छ। स्थानीय छिमेकीहरूले खाना पकाउन र खुवाउन सहयोग गरिरहनुभएको छ भने विभिन्न संघसंस्थाको समन्वयमा खाद्यान्न तथा लत्ताकपडा व्यवस्थापन भइरहेको छ,” अध्यक्ष उप्रेतीले बताउनुभयो, “तत्कालका लागि आवास र खानपिनको प्रबन्ध गरिए पनि बस्ती नै बगेकाले उहाँहरूको दीर्घकालीन पुनःस्थापनाका लागि थप छलफल र विकल्पको खोजी गरिनेछ।”
बाढीले बस्तीका साथै धार्मिक स्थल त्रिपुरासुन्दरीस्थित नृसिंहधाममा समेत क्षति पुर्याएको छ। गत जेठमा निर्मित हवनकुण्ड बाढीले बगाएको छ भने मन्दिर आसपासको जमिन तीव्र रूपमा कटान गरेको छ। लेदो जमेको र अर्कोतर्फ पहिरो खसेकाले आश्रमस्थलसमेत उच्च जोखिममा परेको गाउँपालिकाले जनाएको छ।
विस्थापित परिवारलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले त्रिपाल, कम्मल, म्याट, झुल, हाइजिन किट, डोरी, बाल्टी र मग लगायतका गैर-खाद्य सामग्री वितरण गरेको छ। रेडक्रस धादिङका सभापति दुर्लभकुमार तामाङले भन्नुभयो, “तत्कालका लागि अत्यावश्यक सामग्री उपलब्ध गराएका छौँ, आवश्यकता हेरेर थप राहत सामग्री वितरण गर्नेछौँ।”
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले प्रभावित परिवारको तत्कालीन राहत तथा बसोबासको व्यवस्था मिलाइसकिएको र दीर्घकालीन पुनःस्थापनाका लागि आवश्यक अध्ययन तथा छलफल गरी कदम चालिने बताउनुभएको छ।







