बागेश्वरीका ‘अन्ते दाई’ खाली हात घर फर्किँदै गर्दा डा. भाइराजा श्रेष्ठले सुरु गरे ३० हजारको ‘सम्मान कोष’
87 पटक पढिएको
धादिङ । धादिङको गल्छीस्थित श्री बागेश्वरी माध्यमिक विद्यालय, बैरेनीमा चार दशकभन्दा बढी समय अनवरत सेवा गरेर खाली हात अनिवार्य अवकाशमा जान लाग्नुभएका कार्यालय सहयोगी झलक बहादुर कार्की (“अन्ते दाई”) को आगामी दिन लाई सहज र सम्मानित बनाउन पूर्वविद्यार्थी डा. भाइराजा श्रेष्ठको नेतृत्वमा ‘अन्ते दाई सम्मान कोष’ अभियान सुरु भएको छ।
वि.सं. २०४३ सालदेखि विद्यालयमा अविछिन्न रूपमा कार्यरत कार्की चालू आर्थिक वर्ष २०८३/८४ देखि उमेर हदका कारण सेवाबाट बाहिरिँदै हुनुहुन्छ। ४० वर्षभन्दा बढी समय अस्थायी कर्मचारीकै रूपमा निष्ठापूर्वक काम गर्नुभएका कार्की अवकाशको समयमा कुनै पेन्सन, उपदान वा दीर्घकालीन जीवनवृत्ति कोष बिना खाली हात फर्कनुपर्ने परिस्थिति सिर्जना भएपछि डा. श्रेष्ठले यो मानवीय तथा सम्मानजनक अभियानको थालनी गर्नुभएको हो।
विद्यालयका पूर्वविद्यार्थी डा. भाइराजा श्रेष्ठले कार्कीको योगदानको उच्च कदर गर्दै उहाँको व्यक्तिगत बैंक खातामा सिधै तीस हजार जम्मा गरेर सम्मान कोषको सुरुवात गर्नुभएको छ।

“आफ्नो जीवनको ऊर्जावान् ४० वर्षभन्दा बढी समय विद्यालयलाई सुम्पिनुभएका अन्ते दाई अवकाशको सङ्घारमा रहँदा रित्तो हात, बिरामी शरीर र अनिश्चित भविष्य बोकेर फर्किनुपर्ने बाध्यता निकै हृदयविदारक छ,” डा. श्रेष्ठले भन्नुभयो, “उहाँको यो अतुलनीय समर्पण र इमान्दारिताका सामु हामी पूर्वविद्यार्थीहरू नतमस्तक छौँ। उहाँको बाँकी जीवन अलिकति भए पनि सहज बनोस् भन्ने उद्देश्यले यो कोष खडा गरिएको हो।”
डा. श्रेष्ठले सुरु गर्नुभएको यस पवित्र अभियानमा हातेमालो गर्न बागेश्वरी मावि बैरेनीका सम्पूर्ण पूर्वविद्यार्थीहरूलाई विशेष अनुरोध गरिएको छ। हाल देश तथा विदेशका विभिन्न पेसा, व्यवसाय र क्षेत्रमा स्थापित पूर्वविद्यार्थीहरूले आ-आफ्नो तर्फबाट सक्दो योगदान पुर्याएर अभियानलाई सफल बनाउन डा.श्रेष्ठले अपिल गर्नुभएको छ।
पूर्वविद्यार्थीहरूको सानो सहयोगले पनि जीवनभर विद्यालयको सेवामा घोटिएका एक असहाय राष्ट्रसेवकको मुहारमा मुस्कान ल्याउन सकिने भन्दै यस अभियानलाई व्यापक बनाउने तयारी गरिएको छ।







