अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन धादिङबेँसीमा सुरु
59 पटक पढिएको
धादिङ, ३१ असोज । अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशन धादिङ जिल्लाको सदरमुकाम धादिङबेँसीमा शनिवारदेखि सुरु भएको छ।
समाजका अध्यक्ष राजन खकुरालको अध्यक्षतामा आयोजित महाधिवेशनको उद्घाटन धादिङ क्षेत्र नम्बर २ का सांसद एवं संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठ र सङ्घीय सरकारका पूर्वमन्त्री रामनाथ अधिकारीले संयुक्त रूपमा दीप प्रज्ज्वलन गरी गर्नुभएको थियो।
महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रतिनिधि सभा सदस्य बोधनारायण श्रेष्ठ, पूर्वमन्त्री रामनाथ अधिकारी, प्रतिनिधि सभा सदस्य गङ्गादेवी श्रेष्ठ, वाग्मती प्रदेश सभा सदस्यद्वय गोविन्द लम्साल र मायादेवी शर्मा, नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गाना तथा उपप्रमुख दीपक विश्वकर्माले मन्तव्य राख्नुभएको थियो।
त्यस्तै, गैरआवासीय नेपाली सङ्घ आइसिसीका उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय धादिङ समाजका सल्लाहकार डेनमार्क निवासी लोकप्रसाद दाहाल, सिद्धलेक गाउँपालिकाकी उपाध्यक्ष सविता अर्याल र नेत्रावती डबजोङ गाउँपालिकाकी उपाध्यक्ष सीता चोदेनले पनि शुभकामना व्यक्त गर्नुभएको थियो।
समारोहमा धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतम, राजनीतिक दलका तर्फबाट नेकपा केन्द्रीय सदस्य रामबहादुर भण्डारी, नेकपा संयोजक मनराज भण्डारी, रास्वपा जिल्ला सभापति राजन अर्याल, नेपाली काङ्ग्रेसका क्षेत्र नं. २ का क्षेत्रीय सभापति राजन बुर्लाकोटी, गैरसरकारी संस्था महासङ्घका उपाध्यक्ष सिलास तामाङ र नेपाल पत्रकार महासङ्घ धादिङका अध्यक्ष सीताराम अधिकारीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
महाधिवेशनमा विश्वका २३ देशमा छरिएर रहेका धादिङवासीहरूको प्रतिनिधि रूपमा सहभागिता रहेको छ। धादिङ जन्मथलो भई संसारभर फैलिएका धादिङवासीहरूलाई एकताबद्ध गरी साझा सामाजिक संस्थाका रूपमा काम गर्ने उद्देश्यले विक्रम संवत् २०७४ सालमा अन्तर्राष्ट्रिय धादिङ समाजको स्थापना गरिएको थियो।
“जहाँ धादिङवासी, त्यहीँ धादिङ समाज” भन्ने मूल नाराका साथ सङ्गठन विस्तार र सामाजिक कार्यहरूमा यस संस्थाले उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। उद्घाटन कार्यक्रमका अधिकांश वक्ताहरूले समाजमार्फत विभिन्न आपत्कालीन समयमा पुर्याइएको राहत तथा सहयोगको उच्च प्रशंसा गर्नुभएको थियो।
यस महाधिवेशनले आगामी दुई वर्षका लागि समाजको नयाँ नेतृत्व चयन गर्नेछ।







