अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा पत्रकार महासंघ धादिङका अध्यक्ष अधिकारीसहित ६ जना पत्रकार सम्मानित
61 पटक पढिएको
धादिङबेसी । अन्तर्राष्ट्रिय धादिङ समाज (आईडीएस) ले धादिङ जिल्लाको सञ्चार क्षेत्रको विकास तथा पत्रकारिताका माध्यमबाट समाजलाई सुसूचित गराउन उल्लेख्य योगदान पुर्याएको भन्दै छ जना पत्रकारहरूलाई सम्मान गरेको छ।
शनिबार धादिङबेसीमा सम्पन्न समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशनको भव्य उद्घाटन समारोहका बीच उनीहरूलाई सम्मान गरिएको हो।
सम्मानित हुनेहरूमा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी, अनलाइनखबरका सुदर्शन खतिवडा, कान्तिपुर टेलिभिजनका पोषनाथ अधिकारी, बाह्रखरी डटकमकी सरिता श्रेष्ठ, जापानमा रहेर पत्रकारिता गर्दै आएका राजन गौतम र नीलकण्ठ एफएमका रामकुमार थापा रहेका छन्।
महाधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथि तथा अतिथिहरू अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल, सांसद बोध नारायण श्रेष्ठ, सांसद गंगादेवी श्रेष्ठ, पूर्वमन्त्री रामनाथ अधिकारी, नगरपालिका संघका अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना र गैरआवासीय नेपाली संघका उपाध्यक्ष लोक दाहाल लगायतका नेताहरूले संयुक्त रूपमा पत्रकारहरूलाई सम्मानपत्र र खदा ओढाएर सम्मान गरेका थिए।
कार्यक्रममा बोल्दै वक्ताहरूले पत्रकारिता समाजको ऐना भएको उल्लेख गर्दै निष्पक्ष, जिम्मेवार र व्यावसायिक पत्रकारितामार्फत जनताका समस्या र आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउन आग्रह गरे। सत्यतथ्य समाचार सम्प्रेषण गरी नागरिकलाई सुसूचित बनाउन पत्रकारहरूको भूमिका सधैँ महत्त्वपूर्ण रहने उनीहरूको भनाइ थियो।
प्रवासमा रहेका धादिङवासीहरूको साझा संस्था अन्तर्राष्ट्रिय धादिङ समाजले जिल्लाको पत्रकारिता क्षेत्रलाई प्रोत्साहन गर्न आयोजना गरेको यस सम्मान कार्यक्रमले सञ्चारकर्मीहरूलाई थप जिम्मेवार, उत्तरदायी र निष्पक्ष भएर कलम चलाउन प्रेरणा मिल्ने विश्वास लिइएको छ।







