दसैँको टीका जारी; आज पापाङ्कुशा एकादशी
43 पटक पढिएको
काठमाडौँ । विजयादशमीका दिन टीका तथा जमरा ग्रहण गर्न छुटेका आफन्त र छोरीचेलीका लागि आज (पापाङ्कुशा एकादशी) पनि मान्यजनबाट आशीर्वाद लिने क्रम जारी छ। आश्विन शुक्ल एकादशीका दिन भगवान् विष्णुको पद्मनाभ स्वरूपको पूजा-आराधना र व्रत बस्ने धार्मिक परम्परासँगै, नेपाली समाजमा कोजाग्रत पूर्णिमासम्मै दसैँको टीका थाप्ने र पारिवारिक भेटघाट गर्ने क्रम चलेको हो।
विशेष गरी दसैँको मुख्य दिन घर पुग्न नसकेका परिवारका सदस्य, टाढा रहेका आफन्त तथा माइत आउन नभ्याएका छोरीचेलीहरू यसै अवधिमा टीका थाप्न आउने गर्छन्। यसले गर्दा विजयादशमी पछि पनि गाउँघर तथा शहरमा दसैँको रौनक र चहलपहल कायमै रहेको छ।
वैष्णव परम्परामा आश्विन शुक्ल पक्षको एकादशीलाई ‘पापाङ्कुशा एकादशी’का रूपमा विशेष महत्त्वका साथ मनाइन्छ। धार्मिक ग्रन्थहरूका अनुसार यस दिन भगवान् विष्णुको पद्मनाभ रूपको उपासना र व्रत गर्नाले समस्त पापहरूबाट मुक्ति मिल्ने जनविश्वास छ।
यस दिन बिहानै स्नान गरी चोखो वस्त्र धारण गरेर पूजापाठ गर्ने, एकादशी महात्म्यको कथा सुन्ने र अन्न/गेडागुडीको साटो फलाहार वा फलफूल ग्रहण गरेर व्रत बस्ने परम्परा छ।
पापाङ्कुशा एकादशीका दिन आफ्नो क्षमता अनुसार सुन, तिल, जौ, अन्न, भूमि, छाता तथा जुत्ता दान गर्दा अक्षय पुण्य प्राप्त हुने धार्मिक मान्यता छ। यसैगरी दुःखी, असहाय तथा गरिबहरूलाई सहयोग गर्नुलाई पनि धर्मको महत्त्वपूर्ण अङ्ग मानिन्छ।
यस दिन विष्णु सहस्रनामको पाठ, भगवान् राम र कृष्णको स्तुति तथा भजन-कीर्तन गर्ने गरिन्छ। केवल वैष्णव मात्र नभई शिवभक्तहरूले पनि यस दिनलाई श्रद्धाका साथ मनाउने गर्छन्। धार्मिक निष्ठा, परोपकार र दसैँको पारिवारिक पुनर्मिलनलाई एकसाथ जोड्ने यो अवसर कोजाग्रत पूर्णिमासम्म नै कायम रहन्छ।







