बडादसैँको टीकाको दिन कस्तो रहला मौसम ? पहाडी र हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना

55 पटक पढिएको

५ कार्तिक २०८३, बुधबार ०७:४२ सम्पादक: धादिङ न्यूज

काठमाडौं, ४ कार्तिक । बडादसैँको टीकाका दिन आज देशका अधिकांश भूभागमा मौसम अनुकूल रहने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली भए पनि तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाले सार्वजनिक गरेको दसैँ विशेष मौसम बुलेटिनअनुसार नेपालबाट मनसुन बाहिरिसकेकाले दसैँका बेला ठूलो वर्षाको सम्भावना कम छ। यद्यपि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बादल लाग्न सक्नेछ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

दसैँको टीका लगाउन तथा आफन्तकोमा आवतजावत गर्नेहरूका लागि अधिकांश स्थानमा मौसम अनुकूल रहने देखिए पनि हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्दा सम्भावित वर्षा, हिमपात र चट्याङको जोखिमलाई ध्यान दिन मौसमविद्ले सुझाव दिएका छन्।

मौसमको अवस्थाबारे जानकारी लिँदै यात्रा गर्न र सम्भावित मौसमी परिवर्तनप्रति सतर्क रहनु उपयुक्त हुनेछ।