ज्याला नपाएर दशैंमा अलपत्र मजदुरलाई नीलकण्ठ नगरपालिकाको खाद्यान्न सहयोग
76 पटक पढिएको
धादिङ । पाँच–छ महिनादेखि ज्याला नपाउँदा दशैंमा घर फर्कन नसकेर निर्माणस्थलमै अलपत्र परेका १२ जना मजदुरलाई नीलकण्ठ नगरपालिकाले खाद्यान्न सहयोग गरेको छ। नगरपालिकाले मजदुरलाई दाल, चामल, तरकारी र मासुलगायत खाद्य सामग्री वितरण गरेको हो।
नीलकण्ठ नगरपालिका–३ र १२ जोड्ने थोपल खोला पक्की पुल निर्माणमा खटिएका मजदुरले लामो समयदेखि ज्याला पाउन सकेका छैनन्। काम गरेको पैसा नपाएपछि घर जाने भाडासमेत जुटाउन नसकेका उनीहरू दशैंमा परिवारसँग भेटघाट गर्नबाट वञ्चित भएका थिए। दैनिक गुजारा चलाउनसमेत कठिनाइ भएपछि उनीहरू स्थानीय बासिन्दाको सहयोगमा बसिरहेका थिए।
नेपालपथ डटकममा ‘ज्याला नपाउँदा दशैंमा कामस्थलमै रोकिए थोपल पुलका मजदुर’ शीर्षकमा समाचार प्रकाशित भएपछि नगरपालिकाले मजदुरको अवस्थाबारे चासो देखाउँदै खाद्यान्न सहयोग गरेको हो। खाद्यान्न पाएपछि तत्कालका लागि छाक टार्ने चिन्ता कम भएको मजदुरले बताएका छन्।
पुल निर्माणमा ३६ जना मजदुर खटिएका थिए। तीमध्ये २४ जना सरसापट गरेर वा घरबाट पैसा मगाएर दशैं मनाउन घर फर्किएका थिए। तर, घर जाने खर्चसमेत जुटाउन नसकेपछि बाँकी १२ जना धादिङमै रोकिएका हुन्। अलपत्र परेका मजदुरमध्ये सल्यानका सात, बाँकेका दुई, सुर्खेतका दुई र गोरखाका एक जना छन्।
नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुंगानाले दशैंमा घर जान नपाएर निर्माणस्थलमै रोकिएका मजदुरलाई राहतस्वरूप खाद्यान्न वितरण गरिएको बताए। उनीहरू नगरपालिकाभित्रै काम गरिरहेका र दशैंमा घर जान नपाएको जानकारी पाएपछि सहयोग गरिएको उहाँको भनाइ छ।
‘उहाँहरू नगरपालिका भित्रै काम गरिरहनुभएको छ। दशैंमा घर जान नपाएर कार्यस्थलमै अलपत्र पर्नुभएको भन्ने थाहा पायौँ। परिवारसँग दशैं मनाउन नपाए पनि काम गरेकै ठाउँमा भए पनि चाडपर्व मनाउन सकून् भनेर खाद्यान्न सामग्री वितरण गरेका हौँ,’ नगरप्रमुख ढुंगानाले भने।
दशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउनुपर्ने मजदुर ज्याला नपाएकै कारण निर्माणस्थलमा रोकिनुपरेको छ। नगरपालिकाको खाद्यान्न सहयोगले तत्कालको खाद्य संकट कम भए पनि उनीहरूले काम गरेको ज्याला भने अझै पाउन सकेका छैनन्।
काम गरेको पारिश्रमिक नपाउँदा मजदुरले चाडपर्वसमेत मनाउन नपाउने अवस्था अन्त्य गर्न सम्बन्धित निर्माण कम्पनी तथा निकायले पहल गर्नुपर्ने देखिएको छ। मजदुरले लामो समयदेखि रोकिएको ज्याला भुक्तानीका लागि सम्बन्धित पक्षसँग आवश्यक पहल गरिदिन आग्रह गरेका छन्।








https://addlinks.pro/h7ZYP