अर्को सातादेखि नेपालमा वर्षाको सम्भावना, किसान र पर्यटकलाई सतर्क रहन चेतावनी

11 पटक पढिएको

६ कार्तिक २०८३, बिहीबार १०:०६ सम्पादक: धादिङ न्यूज

काठमाडौं, ५ कात्तिक। बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण आगामी सातादेखि नेपालका धेरैजसो भूभागमा करिब एक सातासम्म निरन्तर वर्षा हुन सक्ने सम्भावना देखिएको छ। मौसमविद्हरूका अनुसार यो प्रणालीको प्रभावका कारण देशका केही स्थानमा भारी वर्षा र असिनापानीसमेत पर्न सक्ने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञानका जानकार डा. विनोद पोखरेलका अनुसार विश्वका विभिन्न चारवटा प्रमुख मौसम पूर्वानुमान मोडेलहरूले आगामी मंगलबारदेखि नेपालमा मौसमी बदली भई वर्षा गराउने संकेत देखाएका छन्। मौसम पूर्वानुमान मोडेलहरूले आगामी साता वर्षा हुने स्पष्ट संकेत गरे पनि कुन ठाउँमा कति मात्रामा वर्षा हुन्छ भन्ने विषयमा भने फरक-फरक आकलन प्रस्तुत गरेका छन्। फरक-फरक मोडेलहरूले वर्षाको क्षेत्र र परिमाण फरक देखाएकाले कुन जिल्ला वा क्षेत्रमा कति पानी पर्छ भन्ने ठ्याक्कै यकिन गर्न अहिले कठिन रहेको उहाँको भनाइ छ। मौसम प्रणाली अझै विकसित हुने क्रममै रहेकाले आगामी दिनमा यसको प्रभावबारे थप स्पष्टता आउनेछ। त्यसैले सर्वसाधारण र सरोकारवालाहरूलाई नियमित रूपमा मौसमको ताजा अपडेट ध्यानपूर्वक हेर्न आग्रह गरिएको छ।

अहिले नेपालभर धान काट्ने र पाकेको धान भित्र्याउने मुख्य सिजन चलिरहेकाले यस्तो संवेदनशील समयमा हुन लागेको वर्षाले कृषि क्षेत्रमा ठूलो क्षति पुर्‍याउन सक्ने जोखिम छ। आगामी मंगलबारदेखि मौसम बिग्रिने सम्भावना रहेकाले धान काट्ने तयारीमा रहेका किसानहरूलाई सम्भव भए मंगलबारअघि नै धान काटेर सुरक्षित स्थानमा भित्र्याउन मौसमविद्हरूले सुझाव दिएका छन्। यदि मंगलबारअघि धान काटेर भित्र्याउन सम्भव छैन भने वर्षा सुरु हुनुअघि धान नकाट्न र वर्षा रोकिएर मौसम पूर्ण रूपमा सफा भएपछि मात्र काट्ने गरी तयारी गर्न भनिएको छ। यसका साथै केही स्थानमा असिनासमेत पर्न सक्ने भएकाले नकाटेको धान र अन्य बालीलाई हुन सक्ने क्षतिबाट बचाउन थप सतर्कता अपनाउनुपर्ने देखिन्छ।

असोज र कात्तिक महिना नेपालमा पदयात्रा तथा पर्यटकीय गतिविधिका लागि उपयुक्त मानिए पनि आगामी साता मौसम प्रतिकूल हुने देखिएकाले उच्च हिमाली तथा पहाडी क्षेत्रमा जोखिम बढ्न सक्नेछ। हिमाली क्षेत्रमा वर्षा र हिमपातका कारण बाटो अवरुद्ध हुने, पहिरो जाने र चिसो अत्यधिक बढ्ने सम्भावना रहन्छ। त्यसैले पदयात्रा वा अन्य लामो दूरीको यात्रामा निस्कने तयारीमा रहेका पर्यटक, गाइड र स्थानीयवासीलाई आधिकारिक मौसम बुलेटिन र स्थानीय मौसमको स्थिति राम्रोसँग बुझेर मात्र गन्तव्यतर्फ अघि बढ्न आग्रह गरिएको छ।