थाक्रेको पोखरीचौर ‘मिनी ग्रेटवाल’ तथा होमस्टे पर्यटकीय गन्तव्य बन्दै
47 पटक पढिएको
धादिङ । नेपाल पर्यटन बोर्ड को लगानी तथा स्थानीयको सक्रियतामा धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नम्बर ५ र मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १२ (टिष्टुङ) को सिमानामा पर्ने पोखरीचौरमा आकर्षक पूर्वाधार निर्माण भइरहेका छन्। चीनको प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी ‘मिनी ग्रेटवाल’ पदमार्ग र होमस्टे सञ्चालनमा आएपछि यो क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको हो।
त्रिभुवन राजपथ अन्तर्गत धादिङको दामेचौरबाट करिब ३ किलोमिटर कच्ची सडक पार गरेपछि पोखरीचौरसम्म पुग्न सकिन्छ। पर्यटन बोर्डको सहयोगमा यहाँ मिनी ग्रेटवाल निर्माण भइरहेको छ। हालसम्म यस पदमार्गको ३ सय मिटर क्षेत्रमा सिंढी निर्माण तथा ढुङ्गा बिछ्याउने काम सम्पन्न भइसकेको छ।
मिनी ग्रेटवालसँगै पर्यटकको सुविधाका लागि चौतारो, विश्राम स्थल तथा शौचालयलगायतका संचरना निर्माण गर्ने योजना बनाइएको छ। जसमध्ये चौतारो निर्माणको काम पूरा भइसकेको स्थानीय निर्माण कार्यमा सहजीकरण गर्दै आउनुभएका थाक्रे-५ का आइतकुमार तामाङले जानकारी दिनुभयो।
पर्यटनको विकाससँगै पोखरीचौरमा स्थानीय उत्पादन र आतिथ्यता पस्कन पोखरीचौर सामुदायिक होमस्टे समेत सञ्चालनमा आएको छ। हाल यहाँका ५ वटा घरमा एकैपटक २० जना पर्यटक बास बस्न सक्ने व्यवस्था मिलाइएको छ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरीचौरबाट मौसम सफा भएको समयमा विभिन्न मनोरम हिमश्रृंखलाहरू सहजै अवलोकन गर्न सकिन्छ। यसका साथै नजिकै रहेको बुद्ध पार्कले पनि यहाँ आउने पर्यटकलाई थप आकर्षित गरिरहेको छ। सडक पहुँच र पूर्वाधार निर्माणसँगै पोखरीचौर क्षेत्रमा सम्भावनाका नयाँ ढोकाहरू खुल्दै गएका छन्।







