मलेखुको झोलुङ्गे पुलमा मोटरसाइकलको भीड, फुर्केखोलामा बेलिव्रिज नहुँदा हजारौं नागरिकलाई सास्ती
30 पटक पढिएको
केशव अधिकारी
धादिङ । झट्ट हेर्दा कुनै दौड प्रतियोगितामा सहभागी हुन तम्तयार खेलाडीहरूको लामजस्तै देखिन्छ। तर यो कुनै प्रतियोगिताको दृश्य होइन। धादिङको मलेखुस्थित त्रिशूली नदीमाथिको झोलुङ्गे पुल तर्न पालो पर्खिरहेका मोटरसाइकलहरूको लाम हो। दशैँको टीका थापेर काठमाडौं फर्किने यात्रुहरू साँघुरो पुलमा वारपार गर्न पालो कुर्दै गर्दा यहाँको दृश्यले भदौ १० गतेको बाढीपछि धादिङका नागरिकले भोगिरहेको यातायात सङ्कटको चित्र प्रस्तुत गरिरहेको छ।
गत भदौ १० गते भोटेकोशी बाढीले त्रिशूली नदी पार गरेर फुर्केखोलाबाट परेवाटार निस्कने सडकको पुल बगाएपछि धादिङबेसी र पृथ्वीराजमार्गबीचको सहज यातायात सम्पर्क टुटेको छ। त्यसअघि फुर्केखोलाबाट करिब २५ मिनेटको यात्रामा सदरमुकाम धादिङबेसी पुग्ने गरेका स्थानीय बासिन्दा अहिले घुमाउरो र कच्ची सडक प्रयोग गर्न वा झोलुङ्गे पुलको सहारा लिन बाध्य छन्।
फुर्केखोलाको पुल बगेसँगै सदरमुकाम आउजाउ गर्न कठिन भएको छ। धादिङबेसीसहित जिल्लाका विभिन्न गाउँपालिका र पृथ्वीराजमार्गबीचको आवागमन प्रभावित हुँदा दैनिक कामकाज, व्यापार, उपचार तथा अन्य अत्यावश्यक सेवाका लागि यात्रा गर्ने सर्वसाधारणले समेत सास्ती खेपिरहेका छन्।
यात्रुवाहक सवारीसाधन अहिले गल्छीको मास्टारबाट पिपलटार हुँदै परेवाटार निस्कने सडकबाट सञ्चालन भइरहेका छन्। तर, कच्ची र साँघुरो सडकका कारण करिब १५ किलोमिटर दूरी पार गर्न झन्डै दुई घण्टा लाग्ने गरेको छ। सामान्य अवस्थामा छोटो समयमै पुग्न सकिने गन्तव्यमा पुग्न अहिले घण्टौँ खर्चिनुपर्ने बाध्यता छ।
मोटरसाइकल तथा स्कुटरमा यात्रा गर्ने र आफ्नै सवारीसाधन नभएका यात्रुहरूका लागि मलेखुको झोलुङ्गे पुल मुख्य विकल्प बनेको छ। बेनीघाट रोराङ गाउँपालिका–३ मा राजमार्ग हस्पिटल नजिकै रहेको यो पुलबाट मोटरसाइकल र पैदलयात्रीहरू वारपार गरिरहेका छन्। मलेखु तर्फबाट पुल तरेपछि करिब एक किलोमिटर कच्ची बाटो हिँडेर परेवाटार पुग्नुपर्छ। त्यहाँबाट फुर्केखोला हुँदै कालुपाण्डे मार्ग भएर धादिङबेसी पुग्न सकिन्छ।
विहानी पम्प नजिकै रहेको अर्को झोलुङ्गे पुल जीर्ण भएकाले हाल पैदलयात्रीका लागि मात्रै खुला गरिएको छ। त्यसैले सदरमुकाम धादिङबेसी तथा आसपासका बस्तीबाट राजमार्गतर्फ निस्कने र राजमार्गबाट सदरमुकामतर्फ जाने यात्रुहरूको चाप मलेखुको पुलमा केन्द्रित भएको छ।
दशैँका कारण घर आउने तथा टीका थापेर काठमाडौं फर्किने यात्रुहरूको संख्या बढेपछि पछिल्ला चार दिनयता पुलमा मोटरसाइकलको चाप झन् बढेको छ। अघिल्ला दिनमा जस्तै शनिबार पनि पुल तर्न मोटरसाइकलको लाम लागेको थियो। पुल साँघुरो भएकाले एकैपटक धेरै सवारीसाधन वारपार गर्न नसकिने र पालो पर्खनुपर्ने हुँदा यात्रुहरू घण्टौँसम्म अल्झिनुपर्ने अवस्था सिर्जना भएको छ।

फुर्केखोलाको पुल बगेलगत्तै स्थानीय बासिन्दाले आवागमन सहज बनाउन त्यहाँ बेलिब्रिज राख्न सरकारसँग माग गर्दै आएका छन्। करिब एक सय मिटर लामो बेलिब्रिज उपलब्ध गराउन सकेमा धादिङबेसी र पृथ्वीराजमार्गबीचको यातायात सम्पर्क सहज बनाउन सकिने स्थानीयको अपेक्षा छ। तर, नागरिकले पटक–पटक माग उठाउँदा पनि बेलिब्रिज राख्ने विषयमा ठोस सुनुवाइ हुन सकेको छैन।
यस विषयमा प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठले समेत बेलिब्रिजको माग उठाउनेहरूप्रति व्यङ्ग्य गर्दै आएको भन्दै स्थानीयस्तरमा असन्तुष्टि व्यक्त भइरहेको छ। पुल बगाएको दुई महिनाभन्दा बितिसक्दा पनि स्थायी वा वैकल्पिक आवागमनको भरपर्दो व्यवस्था नहुँदा सर्वसाधारणले अझै उस्तै सास्ती भोगिरहेका छन्।
फुर्केखोलामा बेलिब्रिज राख्ने माग केवल एउटा पुल निर्माणको विषय मात्रै होइन, सदरमुकाम र पृथ्वीराजमार्गबीचको सम्पर्क पुनःस्थापना गर्ने, यात्राको समय घटाउने र नागरिकको दैनिक जीवन सहज बनाउने सवाल पनि हो। दशैँको समयमा मलेखुको झोलुङ्गे पुलमा लागेको मोटरसाइकलको लामले बाढीपछि धादिङका नागरिकले भोगिरहेको यातायात समस्यालाई फेरि उजागर गरेको छ। अब नागरिकको मागअनुसार वैकल्पिक पुलको व्यवस्था कहिले हुन्छ भन्ने प्रश्न सरकार र सम्बन्धित निकायसमक्ष तेर्सिएको छ।







