धादिङका बाढी पीडितका लागि ताइवानका चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
16 पटक पढिएको
धादिङ- धादिङको बाढी प्रभावित क्षेत्रमा ताइवानका चिकित्सकहरूको टोलीमार्फत पाँचदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। बाढीबाट प्रभावित समुदायको राहत, स्वास्थ्य उपचार र शिक्षामा सहयोग पुर्याउने उद्देश्यले कान्छीमाया तामाङ फाउन्डेसनले आगामी नोभेम्बर २९ देखि डिसेम्बर ५ सम्म धादिङमा उक्त शिविर आयोजना गर्न लागेको हो।
फाउन्डेसनले धादिङका साथै रसुवा र नुवाकोटमा पनि राहत, स्वास्थ्य शिविर तथा एम्बुलेन्स हस्तान्तरणका कार्यक्रम अघि सारेको छ। अध्यक्ष डा. दिलबहादुर थोकरका अनुसार आगामी अक्टोबर २६ मा रसुवाको चिलिमे र गोल्जुङ क्षेत्रका एक हजार बाढीपहिरो प्रभावित घरधुरीलाई खाद्यान्न तथा राहत सामग्री वितरण गरिनेछ भने नोभेम्बर ९ देखि ११ सम्म मलेसियाली चिकित्सक टोलीको सहभागितामा रसुवामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।
त्यस्तै अमेरिकास्थित मोरिङ्गा फर लभ को सहयोगमा नोभेम्बर १५ देखि १८ सम्म विपद् प्रभावित १०० जना बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने कार्यक्रम तय गरिएको छ। डिसेम्बर २९ मा नुवाकोटका विपन्न परिवारलाई खाद्यान्न वितरण गर्नुका साथै सुकुमान अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरिनेछ। यसअघि गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी प्रभावित क्षेत्रमा समेत उद्धार तथा राहत वितरण कार्यमा सक्रिय रहेको फाउन्डेसनले ‘सेवा, शिक्षा, स्वास्थ्य र मानवता’लाई मूल अभियान बनाएर सामाजिक कार्य गर्दै आएको छ।







