खनियाबास रास्वपाको भेलामा केन्द्रीय सहकोषाध्यक्ष बसुमायाले अपमान गरेको राम तामाङको आरोप खनियाबासमा रास्वपाको पहिलो पालिका भेला, जातीय सद्भावमा असर पर्ने अभिव्यक्ति दिएको भन्दै सांसदलाई सुझाव दिँदा अपमानित हुनुपरेको रामको दाबी

60 पटक पढिएको

९ कार्तिक २०८३, आईतवार १७:५१ सम्पादक: धादिङ न्यूज

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवम् प्रतिनिधिसभा सदस्य बसुमाया तामाङले पार्टीको कार्यक्रममा आफूलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै रास्वपाका कार्यकर्ता राम तामाङले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। आईतबार खनियाबास गाउँपालिकामा आयोजित पार्टीको प्रथम ऐतिहासिक भेलामा सांसद तामाङले दिएको अभिव्यक्तिप्रति असहमति जनाउँदै सुझाव दिँदा उल्टै अपमानित हुनुपरेको उनको दाबी छ।

राम तामाङले कात्तिक ८ गते आइतबार आफ्नो फेसबुकमा लेख्दै सांसद बसुमाया तामाङले आफूलाई ‘तलाई कसले बोलाएर आको? हामीले बोलाएकै छैनौँ’ भनेको उल्लेख गरेका छन्। उक्त भनाइ खनियाबास गाउँपालिकामा आयोजित रास्वपाको भेलामा सांसद तामाङले आफूलाई भनेको उनको दाबी छ।

रामका अनुसार कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी सांसद तामाङले सुरुमा नेपाली भाषामा सम्बोधन गरेकी थिइन्। त्यसपछि तामाङ भाषामा मन्तव्य दिने क्रममा ‘यो पालिका अब तामाङहरूको मुट्ठीमा हुनुपर्छ, यहाँबाट यी नाक चुच्चे बाहुनहरूलाई खेद्नुपर्छ’ भन्ने आशयको अभिव्यक्ति दिएको रामको आरोप छ।

उनका अनुसार सांसदको औपचारिक मन्तव्य सकिएपछि आफूले नजिकै गएर जातीय तथा धार्मिक द्वन्द्व निम्त्याउन सक्ने अभिव्यक्ति गरिमामय राजनीतिक कार्यक्रममा दिन नहुने सुझाव दिएको थिएँ । तर, सुझाव सुनेपछि सांसद तामाङ आक्रोशित भएको र आफूलाई ‘तलाई के मतलब, म खुलेरै बोल्छु’ भनेको रामले फेसबुकमा उल्लेख गरेका छन्।

त्यसपछि आफूलाई कार्यक्रममा कसले बोलाएको भन्दै प्रश्न गरिएको उनको दाबी छ। ‘मेरो जन्मभूमि र यो कार्यक्रममा आउन मैले उहाँको अनुमति लिनुपर्थ्यो भन्ने कुरा मलाई जानकारी थिएन। त्यसको लागि म क्षमा माग्न चाहन्छु,’ रामले व्यङ्ग्यात्मक शैलीमा लेखेका छन्।

रामका अनुसार कार्यक्रममा उपस्थित धेरैले सांसदको अभिव्यक्ति सुने पनि कसैले सार्वजनिक रूपमा प्रतिक्रिया जनाएनन्। आफूले भने जातीय सद्भावमा असर पर्न सक्ने भन्दै सुझाव दिएको उनको भनाइ छ। उनले कार्यक्रममा आफूलाई धकेलाधकेलसमेत गरिएको दाबी गरेका छन्। यद्यपि, उक्त घटनाबारे अन्य प्रत्यक्षदर्शीको भनाइ तथा स्वतन्त्र पुष्टि सार्वजनिक भएको छैन।

रास्वपा धादिङले जिल्लाको विकट उत्तरी क्षेत्रका खनियाबास र रुबीभ्याली गाउँपालिकामा पहिलोपटक पालिकास्तरीय भेला आयोजना गरेको छ। संगठन विस्तार तथा पार्टीका नीतिगत सन्देश स्थानीय तहसम्म पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत आइतबार खनियाबास र सोमबार रुबीभ्यालीमा भेला आयोजना गरिएको हो।

अभियानका क्रममा रास्वपाको टोली एक हप्तासम्म उत्तरी धादिङमा रहने जनाइएको छ। जिल्लाको विकट क्षेत्रमा संगठन निर्माण र स्थानीयस्तरमा पार्टीको गतिविधि विस्तार गर्ने उद्देश्यले नेताहरूको टोली परिचालित भएको हो।

खनियाबासमा आयोजित भेलामा रास्वपाकी केन्द्रीय सहकोषाध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य बसुमाया तामाङ, बागमती प्रदेश सभापति उत्सव अर्याल, संसदीय सुनुवाइ समितिका सभापति एवम् प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठ, बागमती प्रदेश महामन्त्री मेनुका ठकुरी, सहमहामन्त्री स्वस्तिका लमिछाने तथा जिल्ला सभापति राजन अर्याललगायत नेताहरू सहभागी भएका थिए।

त्यसैगरी जिल्ला कार्यसमितिका पदाधिकारी, प्रदेश समितिका उपलब्ध पदाधिकारी तथा सदस्यहरू र विभिन्न पालिकाका सभापतिहरू पनि भेलामा उपस्थित थिए।

पार्टीको संगठन विस्तारका लागि आयोजना गरिएको उक्त कार्यक्रममा जिल्लादेखि केन्द्रसम्मका नेताहरूको सहभागिता रहे पनि सोही कार्यक्रमसँग जोडिएको भनिएको विवादले राजनीतिक कार्यक्रममा दिइने अभिव्यक्ति, जातीय सद्भाव र पार्टीभित्र फरक मत राख्ने कार्यकर्ताप्रतिको व्यवहारबारे प्रश्न उठाएको छ।

राम तामाङ सामाजिक सञ्जालमार्फत पार्टी नेतृत्व, अन्य राजनीतिक दलका नेता, सार्वजनिक पदमा रहेका व्यक्ति तथा सार्वजनिक चासोका विषयमा प्रश्न उठाउँदै आएका व्यक्ति हुन्। उनले विभिन्न विषयमा आफ्ना धारणा सार्वजनिक गर्दै नेतृत्व र सार्वजनिक पदाधिकारीको कामकारबाहीमाथि आलोचना गर्दै आएका छन्।

रामले घटनाबारे आफ्नो असहमति सार्वजनिक गर्दै खनियाबास भेलाबाट गठन भएको पालिका कार्यसमितिलाई आगामी दिनमा उदाहरणीय काम गरेर सफल कार्यकालको प्रमाणित गर्न शुभकामना दिएका छन्।

यस घटनाबारे सांसद बसुमाया तामाङको प्रतिक्रिया तथा कार्यक्रममा सहभागी अन्य व्यक्तिको भनाइ सार्वजनिक भएपछि घटनाको थप पक्ष स्पष्ट हुन सक्नेछ। रामले उल्लेख गरेको अभिव्यक्ति र धकेलाधकेलको दाबी स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ।