मुख्यमन्त्री थापाद्वारा बाल सेवाघर निरीक्षण, आश्रित बालबालिकासँग दसैँको खुसी साटासाट
28 पटक पढिएको
काठमाडौं, कात्तिक ८ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५, लमलेस्थित मानव कल्याण समाजअन्तर्गत सञ्चालित बाल सेवाघरको आइतबार स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा उहाँले त्यहाँ आश्रित बालबालिकाको अवस्था, हेरचाह, संरक्षण तथा सेवा व्यवस्थापनबारे जानकारी लिनुभएको हो।
मुख्यमन्त्री थापाले घरबारविहीन, असहाय, बेसहारा तथा अभिभावकविहीन बालबालिकालाई आश्रय प्रदान गर्दै आएको संस्थाको भूमिकाको प्रशंसा गर्नुभयो। कठिन परिस्थितिमा रहेका बालबालिकाको संरक्षण र भविष्य निर्माणमा यस्ता संस्थाको योगदान महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो।
‘आजका बालबालिका भोलिका राष्ट्रका कर्णधार हुन्’ भन्दै मुख्यमन्त्री थापाले बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्ने, उचित हेरचाह र संरक्षण प्रदान गर्ने तथा सुरक्षित भविष्य निर्माणका लागि अवसर उपलब्ध गराउने दायित्व सबैको साझा भएको बताउनुभयो।
निरीक्षणका क्रममा मुख्यमन्त्री थापाले घरबारविहीन, असहाय, टुहुरा तथा सडकबाट उद्धार गरी ल्याइएका बालबालिकासँग भेटघाट गर्नुभयो। उहाँले बालबालिकालाई टीका र जमरा लगाइदिँदै विजयादशमीको शुभकामना आदानप्रदान गर्नुभएको थियो।
‘हुनेबाट सहयोग, नहुनेलाई उपयोग’ भन्ने मूल नारालाई आत्मसात् गर्दै असहाय तथा अभिभावकविहीन बालबालिकासँग दसैँको खुसी साटासाट गर्न पाउँदा आत्मीय र भावुक अनुभूति भएको मुख्यमन्त्री थापाले बताउनुभयो।
मानव सेवा घरजस्ता संस्थाले कठिन परिस्थितिमा रहेका बालबालिकालाई आश्रय, माया, संरक्षण र उज्ज्वल भविष्यको आशा प्रदान गर्दै आएको उल्लेख गर्दै उहाँले बालबालिकाको अधिकार, सम्मान र आधारभूत आवश्यकताको सुनिश्चितताका लागि समाजका सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो।
मुख्यमन्त्री थापाले संस्थामा रहेर बालबालिकाको हेरचाह तथा सेवामा समर्पित सबैप्रति आभार व्यक्त गर्नुभयो। उहाँको निरीक्षण र बालबालिकासँगको दसैँ शुभकामना आदानप्रदानले असहाय बालबालिकाको संरक्षण तथा सामाजिक उत्तरदायित्वप्रतिको सामूहिक प्रतिबद्धताको महत्त्वलाई उजागर गरेको छ।







