तिहार लक्षित गर्दै काठमाडौँ महानगरको कडाइ: प्लास्टिकका फूलमाला बिक्रीमा पूर्ण प्रतिबन्ध, बिक्रीका लागि तोकिए ठाउँहरू
35 पटक पढिएको
काठमाडौँ । नजिकिँदै गरेको तिहार तथा दीपावली पर्वलाई लक्षित गर्दै काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य फूल, फूलमाला तथा सजावटका सामग्रीको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ। महानगरपालिकाले स्वदेशी फूल तथा मालाको प्रयोगलाई प्रोत्साहन गर्दै प्लास्टिकजन्य सामग्री बिक्री नगर्न व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको हो।
काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालयअन्तर्गतको महानगर प्रहरी बलले सार्वजनिक सूचना जारी गर्दै प्रतिबन्धको अवज्ञा गरी प्लास्टिकजन्य वा गुणस्तरहीन फूल, फूलमाला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने चेतावनी दिएको छ। नेपाली किसानले उत्पादन गरेका प्राकृतिक फूल तथा मालाले उचित बजार पाओस् र उपभोक्ताले सहज रूपमा खरिद गर्न सकून् भन्ने उद्देश्यले महानगरपालिकाले काठमाडौँका विभिन्न स्थानलाई बिक्री वितरण केन्द्रका रूपमा तोकेको छ।
सरोकारवाला निकायसँगको समन्वयमा महानगर प्रहरी बलले तोकेका बिक्रीस्थलहरूमा नयाँ बानेश्वर क्षेत्रका एनबी सेन्टर र आईप्लेक्स मल, शंखमुलको बिग मार्ट, मध्य बानेश्वरको सेल्सबेरी, बत्तीसपुतलीको फिनिक्स टावर, तीनकुने चौर र सिफल चौर रहेका छन्। त्यस्तै, चाबहिल क्षेत्रका एसी कम्प्लेक्स, गणेशस्थान तरकारी बजार र केएल टावर अगाडि पनि फूल बिक्री गर्न सकिनेछ।
यसैगरी कमलादीस्थित आईटी बिल्डिङ, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी, सुन्धाराको काठमाडौँ मल, न्युप्लाजास्थित बज्र कम्प्लेक्स (गुड मार्ट), स्वयम्भूको धर्मचक्र पार्क, कलंकीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर तथा माछापोखरीको बुद्ध मललाई समेत बिक्रीस्थल तोकिएको छ। कालिमाटी ब्याङ्क्वेट र चौखेल, हाँडीगाउँस्थित वडा नम्बर ५ कार्यालयअगाडिको डबली तथा गणेश मन्दिर डबली, सामाखुशीको कोइराला स्मार्ट, महाराजगञ्जको सेल्सबेरी, गोंगबु, चप्पल कारखाना र बालुवाटारको बिग मार्टका साथै टेबहाल मन्दिर परिसर, लगन, जैसिदेवल र भृकुटीमण्डपबाट पनि स्वदेशी फूल तथा माला बिक्री वितरण गर्न पाइनेछ।
महानगरपालिकाले स्वदेशी उत्पादनको प्रवर्द्धन, नेपाली किसानको आयआर्जनमा सहयोग तथा वातावरण संरक्षणलाई प्राथमिकता दिँदै प्लास्टिकजन्य फूलमालाको बिक्रीमा कडाइ गरेको जनाएको छ। यस विषयमा थप जानकारी वा सहजीकरण आवश्यक परेमा व्यवसायी तथा सर्वसाधारणले काठमाडौँ महानगर प्रहरी बलको कार्यालयमा सम्पर्क गर्न सक्ने सूचनामा उल्लेख छ।







