गल्छीमा आज देखि वडास्तरीय खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता हुँदै

44 पटक पढिएको

१९ कार्तिक २०८३, बुधबार ०६:१२ सम्पादक: धादिङ न्यूज

धादिङ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ धादिङको गल्छी गाउँपालिकाको आयोजनामा वडास्तरीय खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८३ कात्तिक १८ गते देखि सुरु हुने भएको छ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिन गाउँपालिकाले मङ्गलवार एक पत्रकार सम्मेलनको आयोजना गरेको थियो।
गाउँपालिका–६ स्थित बैरेनीमा सञ्चालन हुने उक्त प्रतियोगितामा कात्तिक १६ गतेसम्म टोली दर्ताको समय तोकिएको थियो। प्रतियोगितामा पुरुषतर्फ ८ टोली र महिलातर्फ ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा पुरुषतर्फ ९३ जना र महिलातर्फ ६७ जना गरी कुल १६० जना खेलाडीहरू मैदानमा उत्रिने भएका छन्।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले नगद ५० हजार रुपियाँ, द्वितीय हुने टोलीले नगद २५ हजार रुपियाँ र तृतीय हुने टोलीले नगद १५ हजार रुपियाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष भाइकाजी तिवारी, वडा नम्बर ६ का अध्यक्ष दीपक कार्की, प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलाल तथा शिक्षा अधिकृत धीरेन्द्र बस्नेत ,शिक्षा शाखाका प्राविधिक सहायक ठाकुर नाथ ढुंगाना ,धादिड बहुमुखी क्याम्पसका प्रमुख हर्क जागरी ,प्रमुख निर्णायक ईश्वर विष्ट जनप्रतिनिधि, कर्मचारी, खेल प्रशिक्षक एवं व्यवस्थापकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख निर्णायक ईश्वर विष्टले खेल अवधिभर खेलाडी तथा टोलीले पालना गर्नुपर्ने नियमहरूबारे विस्तृत जानकारी गराउनुभएको थियो भने सहभागी टोलीका प्रशिक्षक तथा व्यवस्थापकहरूका तर्फबाट खेल अनुशासित र मर्यादित रूपमा सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरिएको थियो।