बाढी प्रभावित गर्भवती, सुत्केरी र बालबालिकालाई पोषण सामग्री वितरण

42 पटक पढिएको

१९ कार्तिक २०८३, बुधबार २०:१० सम्पादक: धादिङ न्यूज

धादिङ, १८ कात्तिक । शान्ति नेपालको आयोजना तथा इएलसीएको आर्थिक सहयोगमा गल्छी गाउँपालिकाका बाढी प्रभावित क्षेत्रका गर्भवती, सुत्केरी तथा पाँच वर्ष मुनिका बालबालिका रहेका परिवारलाई पोषणयुक्त खाद्य सामग्री वितरण गरिएको छ। ‘आत्मसम्मानको पुनर्स्थापना र उत्थानशीलता निर्माण: रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित समुदायहरूका लागि एकीकृत मानवीय सहायता परियोजना’ अन्तर्गत उक्त सहयोग उपलब्ध गराइएको हो।
परियोजना मार्फत धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीका २१ घरधुरी र गजुरी गाउँपालिकाका १९ घरधुरी गरी जम्मा ४० बाढी प्रभावित परिवारलाई पोषणयुक्त खाद्य सामग्री हस्तान्तरण गरिएको छ।
सामग्री वितरण कार्यक्रममा बोल्दै गजुरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तारा भण्डारीले उपलब्ध गराइएको पोषण सामग्रीले विपद्को समयमा बालबालिका, गर्भवती र सुत्केरी महिलाहरूलाई कुपोषणको जोखिमबाट जोगाउन ठूलो मद्दत पुग्ने बताउनुभयो। त्यसैगरी गल्छी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिपक कुमार कार्कीले बाढीपछि सिर्जित जटिल समस्यालाई स्थानीय सरकार र सामाजिक संस्थाहरूको संयुक्त प्रयासमा न्यूनीकरण गर्न सफलता मिलेको उल्लेख गर्नुभयो।
बाढी प्रभावित क्षेत्रका बालबालिका तथा महिलाहरूको स्वास्थ्य र पोषण अवस्थालाई मध्यनजर गर्दै सहायता कार्यक्रम सञ्चालन गरिएको परियोजना संयोजक शुक्र बहादुर विकले जानकारी दिनुभयो। संयोजक विकका अनुसार संस्थाले आगामी दिनमा पनि आवश्यकताका आधारमा स्वास्थ्य तथा जीविकोपार्जन सुधारका क्षेत्रमा निरन्तर काम गर्दै जाने योजना बनाएको छ।