नागढुंगा सुरुङमार्गमा स्वचालित भुक्तानी नहुँदा आधा घण्टासम्म जाम, एन-ट्याग प्रणाली कहिलेबाट लागू हुन्छ?

12 पटक पढिएको

१९ कार्तिक २०८३, बुधबार १६:०० सम्पादक: धादिङ न्यूज

काठमाडौँ। नागढुंगा-नौबिसे सुरुङमार्गमा स्वचालित भुक्तानी (क्यासलेस) प्रणाली सञ्चालनमा नआउँदा यात्रुले सास्ती व्यहोर्नुपरेको छ। आइतबारदेखि सुरुङमार्गमा शुल्क  संकलन सुरु गरिए पनि एन-ट्याग  कार्ड कार्यान्वयन नहुँदा पिक आवरमा सवारीसाधनको लामो लाइन लाग्न थालेको हो।
सुरुङमार्गमा हाल नगद र क्यूआर कोडमार्फत मात्रै शुल्क संकलन भइरहेको छ। जसका कारण एक सवारीसाधनलाई शुल्क तिर्न १५ देखि २० सेकेन्डसम्म समय लाग्ने गरेको छ। खुद्रा पैसा नभएको अवस्थामा झनै समय लाग्दा विशेष गरी बिहान ७ बजेदेखि ९ बजेसम्म आधा घण्टासम्म जाम हुने गरेको छ। जामका कारण कतिपय सवारीसाधन सुरुङमार्ग छाडेर पुरानै त्रिभुवन राजपथको बाटो प्रयोग गर्न बाध्य भएका छन्।
नागढुंगा सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालले क्यासलेस प्रणाली नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या परेको स्वीकार गरे। “एन-ट्याग रिड गर्ने प्रणालीमा आएको प्राविधिक समस्या सुधारको काम भइरहेको छ। एन-ट्याग लागु भएपछि ३-४ सेकेन्डमै भुक्तानी प्रक्रिया सकिन्छ,” उनले भने।
सडक बोर्ड नेपालका अनुसार तिहारसम्म एन-ट्याग प्रणाली पूर्ण रूपमा सञ्चालनमा ल्याउने योजना छ। हाल बैंकहरूले आफ्ना कर्मचारीलाई तालिम दिइरहेका छन् भने प्रणाली इन्टिग्रेसन र कार्ड वितरणको तयारी भइरहेको छ।
राष्ट्र बैंकको निर्देशनअनुसार सडक बोर्डसँग हाल कुमारी, सनिमा, माछापुच्छ्रे, ग्लोबल आइएमई, सिद्धार्थ, नबिल, सिटिजन्स र सनराइज गरी ८ वटा वाणिज्य बैंकले एन-ट्याग कार्ड जारी गर्ने सम्झौता गरेका छन्। जसमध्ये टोल ट्याक्स संकलनको मुख्य जिम्मा पाएको कुमारी बैंकले देशभरका शाखामा करिब ६५ हजार एन-ट्याग कार्ड पठाइसकेको जनाएको छ।
सर्वसाधारणले नयाँ एन-ट्याग कार्ड लिन ५०० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ, जसको म्याद ५ वर्षको हुनेछ। कार्ड लिनका लागि राष्ट्रिय परिचयपत्र , सवारीसाधनको बिलबुकको प्रतिलिपि र KYC फारम आवश्यक पर्छ। विवरण भरेपछि प्राप्त हुने ‘युनिक आइडेन्टिटी नम्बर’ लाई सडक बोर्डको वेबसाइटमा गएर एप्रुभ गरेपछि कार्ड सक्रिय हुनेछ।
कार्डमा पैसा लोड गर्नका लागि फोनहबको ‘टोल पेमेन्ट’  सेक्सन प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ।