फुर्केखोलामा अस्थायी ‘पन्टुन ब्रिज’ राखिने: धादिङका १३ वटै स्थानीय तहको संयुक्त प्रयासले गति लिँदै, राजापुरबाट पुल बोकेका ७ वटा ट्रक प्रस्थान

36 पटक पढिएको

१९ कार्तिक २०८३, बुधबार २१:०२ सम्पादक: धादिङ न्यूज

धादिङ, १८ कात्तिक । भोटेकोशी बाढीका कारण धादिङको प्रमुख सडक सञ्जाल अन्तर्गत फुर्केखोलास्थित पक्की पुल बगाएपछि असहज बनेको  यातायात तथा जनजीवनलाई सहज बनाउन जिल्लाका १३ वटै स्थानीय तहहरू  एकजुट भएका छन्। अवरुद्ध सडक सञ्जाल लाई  सुचारु गर्ने उद्देश्यले बर्दियाको राजापुर सिँचाइ आयोजनाको मातहतमा रहेको ‘पन्टुन ब्रिज’  धादिङ ल्याएर सञ्चालन गर्ने विषयमा जिल्लाका सबै पालिकाबीच साझा सहमति जुटेको छ।
सहमति पश्चात् पुल लोड गरिएका ७ वटा ठूला ट्रकहरू बर्दियाको राजापुरबाट धादिङतर्फ प्रस्थान गरिसकेका छन्। अबको दुई दिनभित्र उक्त  ट्रकहरू मलेखु आइपुग्ने अनुमान गरिएको छ। मलेखुमा पुल आइपुगेलगत्तै आवश्यक मर्मत, रंगरोगन तथा फिनिसिङको काम पूरा गरी तुरुन्तै फुर्केखोलामा जडान कार्य सुरु गरिने ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले जानकारी दिनुभएको छ। बाढीले मुख्य यातायात मार्ग अवरुद्ध हुँदा सास्ती भोगिरहेका यस क्षेत्रका आम नागरिकका लागि यो पहलले ठूलो राहतको आभाष गराएको छ।
यसअघि धुनीबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा धादिङ जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरूको विशेष बैठक सम्पन्न भएको थियो। सोही बैठकले पन्टुन ब्रिज धादिङ ल्याउने, यसको व्यवस्थापन गर्ने र प्राविधिक पक्ष मिलाउने लगायतका सम्पूर्ण प्रशासनिक तथा आर्थिक दायित्वहरू जिल्लाका सबै स्थानीय तहले साझा रूपमा व्यहोर्ने महत्त्वपूर्ण निर्णय गरेको थियो। राजापुर सिँचाइ आयोजनाको मातहतमा रहेको उक्त पुललाई स्थानीय तहको जिम्मामा ल्याएर सञ्चालन गर्नका लागि जलस्रोत तथा सिँचाइ विभागसँग आवश्यक समन्वय गरी औपचारिक अनुमतिसमेत लिइसकेको अध्क्यक्ष दनैले जानकारी दिनु भयो ।
पुललाई सुरक्षित रूपमा राजापुरबाट गन्तव्यसम्म ल्याउने, जडान गरिने स्थलमा सुरक्षित पहुँच मार्ग निर्माण गर्ने तथा आवश्यक भौतिक व्यवस्थापन मिलाउने कार्यलाई प्रभावकारी बनाउन बैठकले स्थानीय तहहरूबीच जिम्मेवारीको स्पष्ट बाँडफाँड गरेको थियो । अस्थायी रूपमा पन्टुन पुल सञ्चालन गरेर तत्कालको यातायात अवरोध हटाउने मात्र नभई, भविष्यमा यस्ता समस्या दोहोरिन नदिन फुर्केखोलामा बलियो र स्थायी पक्की पुल निर्माणका लागि संघीय तथा बागमती प्रदेश सरकारसँग सशक्त पहल गर्ने निर्णयसमेत गरिएको थियो । जिल्लाको यस आपत्कालीन र साझा अभियानलाई सफल बनाउन तीनै तहका जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय तथा कर्मचारीहरूलाई आपसी समन्वयका साथ खटिन आग्रह संयुक्त बैठकले आग्रह समेत गरेको थियो ।
यसअघि पन्टुन ब्रिज ल्याउने प्रक्रियाको व्यावहारिक पक्ष बुझ्न र प्राविधिक सम्भाव्यता अध्ययन गर्न स्थानीय तहहरूको आधिकारिक प्रतिनिधिको रूपमा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनै स्वयम् बर्दियाको राजापुर पुग्नुभएको थियो। उहाँको आग्रह पछि विशेष प्राविधिक टोलीले स्थलगत अध्ययन गरी उक्त पन्टुन ब्रिज फुर्केखोलामा ढुक्कसँग राखेर सहजै यातायात सञ्चालन गर्न सकिने स्पष्ट निष्कर्ष निकालेको थियो। जिल्लाका सबै पालिकाहरूको यो दृढ इच्छाशक्ति, सामूहिक प्रयास र पुल बोकेका ट्रकहरू बाटोमा छुटेसँगै अब छिट्टै नै फुर्केखोलामा यातायात सञ्चालन भई सर्वसाधारणको आवतजाउ सहज हुने उच्च अपेक्षा गरिएको छ।
पुल लिन धादिडबाट प्रतिनिधि सभा सदस्य उर्मिला थपलिया, नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगाना, ज्वालमुखी गाउँपालिका अध्यक्ष यमनाथ दनै,कान्तिपुर टेलिभिजनका उप सम्पादक पोषनाथ अधिकारीको टोली मंगलबार राजापुर पुगेको थियो ।