आदर्श शिक्षासेवी पुरस्कार स्व. रामदास श्रेष्ठलाई मरणोपरान्त प्रदान गरिने

182 पटक पढिएको

२१ कार्तिक २०८३, शुक्रबार १३:४९ सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको गजुरीस्थित आदर्श माध्यमिक विद्यालयका संस्थापक तथा शिक्षासेवी स्व. रामदास श्रेष्ठलाई यस वर्षको ‘आदर्श शिक्षासेवी पुरस्कार–२०८३’ मरणोपरान्त प्रदान गरिने भएको छ।

ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले स्थापना गरेको २५ हजार रुपैयाँ राशिको उक्त पुरस्कार स्व. श्रेष्ठलाई अर्पण गर्ने निर्णय गरेको हो। प्रतिष्ठानका १८३ जना आजीवन सदस्य अर्थात् पूर्वविद्यार्थी तथा शुभेच्छुकहरूले अक्षय कोष स्थापना गरी यो पुरस्कार सञ्चालन गर्दै आएका छन्।

धादिङ जिल्लाको पहिलो आदर्श हाईस्कूलका संस्थापक सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरूको सम्मानमा पुरस्कार स्थापना गरिएको प्रतिष्ठानले जनाएको छ। संस्थापक समितिमा मदनकृष्ण श्रेष्ठ अध्यक्ष, पुरुषोत्तमदास श्रेष्ठ सचिव, बद्रीप्रसाद रिजाल कोषाध्यक्ष तथा कुलविक्रम बस्नेत र हेमनाथ थपलिया सदस्य रहेका थिए।

वि.सं. २०२५ पुस ५ गते विद्यालय स्थापना भएको दिन उपस्थित समाजसेवी तथा विद्वान् चन्द्रमणि पाठकको संयोजकत्वमा गठित आदर्श शिक्षासेवी पुरस्कार सिफारिस समितिको सिफारिसका आधारमा स्व. श्रेष्ठलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।

स्व. रामदास श्रेष्ठले आदर्श माध्यमिक विद्यालयको स्थापनादेखि नै शिक्षाको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो। उहाँ सक्रिय संस्थापक शिक्षासेवी तथा उदार चन्दादाताका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँले २०२७ सालदेखि लगातार २७ वर्षसम्म गजुरीस्थित आदर्श माध्यमिक विद्यालयको सञ्चालक तथा व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी सम्हाल्दै विद्यालयको शैक्षिक तथा संस्थागत विकासमा योगदान गर्नुभएको थियो।

प्रतिष्ठानले स्व. श्रेष्ठको शिक्षाप्रतिको समर्पण, योगदान र समाजसेवाको सम्मानस्वरूप मरणोपरान्त पुरस्कार अर्पण गर्न लागेको जनाएको छ।

पुरस्कार अर्पण समारोह आगामी २०८३ मंसिर ४ गते शुक्रबार दिउँसो २:३० बजे गजुरी–१, गजुरी बजारस्थित आदर्श माध्यमिक विद्यालयमा आयोजना गरिनेछ।

ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले पुरस्कार अर्पण समारोहमा सहभागी हुन स्थानीय अभिभावक, शिक्षासेवी, समाजसेवी, विद्यार्थी तथा सम्पूर्ण जनसमुदायलाई हार्दिक अनुरोध गरेको छ।