ठाकुरप्रसाद शर्मा प्रतिष्ठानद्वारा ‘आदर्श उत्कृष्ट विद्यार्थी तथा छात्रा पुरस्कार–२०८३’ घोषणा, अनिरुद्र, आइन्सटाइन र शुभेच्छा सम्मानित हुने
106 पटक पढिएको
धादिङ : ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले यस वर्षको ‘आदर्श उत्कृष्ट विद्यार्थी पुरस्कार–२०८३’ र ‘आदर्श उत्कृष्ट छात्रा पुरस्कार–२०८३’ घोषणा गरेको छ।
प्रतिष्ठानका १८३ जना आजीवन सदस्यहरूको अक्षयकोषबाट धादिङ जिल्लाको पहिलो हाइस्कुल आदर्श माध्यमिक विद्यालयबाट एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई यो पुरस्कार प्रदान गर्न लागिएको हो। आदर्श मा.वि.बाट प्राप्त सिफारिसका आधारमा प्रतिष्ठानले २०८२ को एसइइ परीक्षामा ४ जिपिए प्राप्त गर्न सफल गजुरी-१ का अनिरुद्र सिं बस्नेत र आइन्सटाइन पाण्डेलाई संयुक्त रूपमा ‘आदर्श उत्कृष्ट विद्यार्थी पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।
त्यस्तै, छात्रातर्फबाट ३.९१ जिपिए प्राप्त गरी उत्कृष्ट नतिजा ल्याउन सफल गजुरी-५ की शुभेच्छा मगरलाई ‘आदर्श उत्कृष्ट छात्रा पुरस्कार’ प्रदान गरिने भएको छ। दुवै पुरस्कारको राशि जनही १०/१० हजार रुपैयाँ रहेको छ।
धादिङ जिल्लाको पहिलो हाइस्कुलका संस्थापक प्रधानाध्यापक, शिक्षाका नक्षत्र तथा पूर्व राज्यमन्त्री ठाकुरप्रसाद शर्माको प्रमुख आतिथ्यमा आगामी २०८३ मङ्सिर ४ गते शुक्रबार दिउँसो १४:३० बजे आदर्श मा.वि. गजुरी-१, गजुरी बजारको प्राङ्गणमा एक समारोहबीच उक्त पुरस्कार वितरण गरिनेछ।
उक्त पुरस्कार अर्पण तथा सम्मान समारोहमा उपस्थित भई कार्यक्रमलाई भव्य रूपमा सफल बनाइदिनुहुन स्थानीय अभिभावक, शिक्षासेवी, समाजसेवी, शिक्षक, विद्यार्थी, प्रतिष्ठानका आजीवन सदस्यहरू तथा सम्पूर्ण शुभेच्छुक महानुभावहरूमा ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले हार्दिक अनुरोध गरेको छ।







