पन्टुन पुल निर्माणको तयारी तीव्र, तिहार बिदामा पनि काम जारी रहने
27 पटक पढिएको
धादिङ- भोटेकोशी बाढीले फुर्केखोलाको पक्की पुल बगाएपछि त्रिशूली नदीमा जडान गर्न लागिएको पन्टुन पुलको तयारी तीव्र पारिएको छ।
गजुरी–२ को जलदेवी मन्दिर र सिद्धलेक–६ को परेवाटार बगरतर्फ पुलसम्म पुग्ने पहुँचमार्ग निर्माण भइरहेको छ। दुवैतर्फ डोजर लगाएर सडकको ट्र्याक खोल्ने काम भइरहेको छ।

यसैगरी पुलका संरचनामा रङ्गरोगन गर्ने काम पनि तिहार बिदामा निरन्तर जारी राखिने भएको छ। पुल जडानलाई लक्षित गरी पहुँचमार्ग निर्माण र अन्य तयारीलाई तीव्रता दिइएको छ।
प्राविधिक अध्ययनपछि गजुरी गाउँपालिका–२ स्थित जलदेवी मन्दिर नजिकबाट त्रिशूली नदी पार गरी सिद्धलेक गाउँपालिका–६ परेवाटार जोड्ने गरी स्थान तय गरिएको छ। दुवैतर्फ डोजर प्रयोग गरी पृथ्वी राजमार्ग र कालुपाण्डे मार्ग जोड्ने पहुँचमार्ग निर्माण कार्य तीव्र पारिएको छ। पहुँचमार्ग र स्थानीय व्यवस्थापनको जिम्मेवारी गजुरी–२ का वडाध्यक्ष द्रोण कँडेललाई दिइएको छ।
बर्दियाको राजापुर सिँचाइ आयोजना मातहत रहेका ३३ वटा डब्बामध्ये तत्काल २४ वटा डब्बा प्रयोग गरेर करिब ८० मिटर दूरी पार गर्ने गरी जडान गरिँदैछ। लामो समय प्रयोगविहीन रहेकाले डब्बाहरूमा खिया लागेको र केहीमा प्वालसमेत परेकाले तिहार बिदामा पनि सरसफाइ, मर्मत र रङ्गरोगनको काम निरन्तर जारी राखिएको छ। राजापुर सिँचाइ आयोजनाका प्राविधिक शशिधर वाग्लेसहित १० जना अनुभवी प्राविधिक जनशक्ति जडानका लागि खटिएका छन्।
धादिङ सदरमुकाम धादिङबेँसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्केखोलाको पक्की पुल भदौ १० को बाढीले बगाएपछि धादिङका १३ वटै स्थानीय तहले साझा कोष मार्फत लागत व्यहोर्ने गरी यो अस्थायी विकल्प तयार गरेका हुन्। समन्वयको मुख्य जिम्मेवारी ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले सम्हाल्नुभएको छ।







