फुर्केखोलामा तिहारलगत्तै पन्टुन पुल सञ्चालन गर्ने तयारी
63 पटक पढिएको
धादिङ । भोटेकोशीमा आएको बाढीले फुर्केखोलास्थित पक्की पुल बगाएपछि अवरुद्ध बनेको धादिङबेँसी–पृथ्वी राजमार्ग सडक सम्पर्क पुनःस्थापित गर्न त्रिशूली नदीमा अस्थायी पन्टुन पुल जडान गरिने भएको छ। बर्दियाको कोठियाघाटमा १३ वर्षदेखि प्रयोगविहीन अवस्थामा थन्किएको पन्टुन पुल धादिङका १३ वटै स्थानीय तहको संयुक्त पहलमा जडान गर्न लागिएको हो। पुललाई तिहार बिदालगत्तै सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
बर्दियाको गुलरिया–राजापुर सडकखण्डअन्तर्गत कर्णाली नदीको भंगालो गेरुवास्थित कोठियाघाटमा सञ्चालनमा रहेको उक्त पन्टुन पुल पक्की पुल निर्माण भएपछि प्रयोगविहीन बनेको थियो। चीनमा निर्मित उक्त पुल एसियाली विकास बैंकको ऋण सहयोगमा खरिद गरी २०५४ सालदेखि २०७० सालसम्म सञ्चालनमा ल्याइएको थियो। कोठियाघाटमा पक्की पुल बनेपछि प्रयोगविहीन भएका पन्टुन पुलका संरचना लामो समयदेखि त्यहीँ थन्किएका थिए।
गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले धादिङको गजुरी गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका–६ जोड्ने फुर्केखोलास्थित त्रिशूली नदीमाथिको पक्की पुल बगाएपछि धादिङ सदरमुकामसहित उत्तरी क्षेत्रका आठ स्थानीय तहको पृथ्वी राजमार्गसँगको सहज सडक सम्पर्क विच्छेद भएको थियो। पुल बगेसँगै धादिङका साथै गोरखा र नुवाकोटका त्रिशूली नदी आसपासका बासिन्दासमेत प्रभावित भएका छन्।
पुलको विकल्प नहुँदा सर्वसाधारणले लामो र जोखिमपूर्ण वैकल्पिक सडक प्रयोग गर्नुपरेको छ। पृथ्वी राजमार्गबाट मासटार–केउरेनी–पिपलटार–परेवाटार पुग्ने लामो कच्ची सडक अहिले मुख्य वैकल्पिक मार्ग बनेको छ। साँघुरो र कच्ची सडकका कारण यात्रुवाहक तथा मालवाहक सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको छ। ढुवानी खर्च बढ्दा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत असर परेको छ।
दुईपाङ्ग्रे सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्दै आएका छन् भने ठूला मालवाहक सवारीसाधनले थप लामो दूरीको बाटो घुमेर आवतजावत गर्नुपर्ने अवस्था छ। यसले पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास, निर्माण सामग्री तथा अन्य अत्यावश्यक वस्तुको ढुवानीसमेत प्रभावित बनाएको छ।
प्राविधिक अध्ययनपछि गजुरी गाउँपालिका–२ स्थित जलदेवी मन्दिरनजिकको स्थानबाट त्रिशूली नदी पार गरी सिद्धलेक गाउँपालिका–६ को परेवाटार जोड्ने गरी पन्टुन पुल जडान गर्ने स्थान छनोट गरिएको हो। राजापुर सिँचाइ व्यवस्थापन आयोजनाका प्राविधिकहरूले नदीको बहाव र पानीको अवस्था अध्ययन गरेपछि उक्त स्थानमा पुल जडान गर्न सकिने निष्कर्ष निकालेका थिए।
आयोजनाका प्राविधिक शशिधर वाग्लेका अनुसार पहिलो चरणमा २४ वटा डब्बा धादिङ ल्याइसकिएको छ। पुलका कुल ३३ वटा डब्बा रहेकामा तत्काल २४ वटा प्रयोग गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ। फुर्केखोलाको करिब ८० मिटर दूरी पार गर्न २४ वटा डब्बा पर्याप्त हुने प्राविधिकहरूको अनुमान छ।
लामो समयसम्म खुला ठाउँमा राखिएका कारण पुलका डब्बामा खिया लागेको छ। तीनवटा डब्बामा प्वालसमेत परेको पाइएको छ। ती डब्बाको मर्मत, सरसफाइ र रंगरोगन गरेर प्रयोगमा ल्याउने तयारी भइरहेको छ। बाँकी डब्बा पनि आवश्यकताअनुसार क्रमशः धादिङ ल्याइनेछ।
पन्टुन पुल जडानका लागि राजापुर सिँचाइ व्यवस्थापन आयोजनाका दुई जना प्राविधिकसहित यसअघि पनि पन्टुन पुल जडानमा काम गरिसकेका १० जना जनशक्ति परिचालन हुनेछन्। प्राविधिकहरूका अनुसार जडान कार्य सुरु भएपछि कम्तीमा सात दिन लाग्नेछ।
फुर्केखोलामा अस्थायी पुल निर्माण गर्ने विषयमा धादिङका १३ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूबीच साझा सहमति भएपछि पुल ल्याउने प्रक्रिया अघि बढाइएको हो। पन्टुन पुलको खोजी, प्राविधिक अध्ययन, ढुवानी र व्यवस्थापनका लागि ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैलाई मुख्य जिम्मेवारी दिइएको थियो। उहाँकै संयोजनमा बर्दियास्थित राजापुर सिँचाइ व्यवस्थापन आयोजनासँग समन्वय गरी पुल धादिङ ल्याउने प्रक्रिया अघि बढेको हो।
पुलको ढुवानी, मर्मत, जडान र व्यवस्थापनमा लाग्ने सम्पूर्ण खर्च धादिङका १३ वटै स्थानीय तहले संयुक्त रूपमा व्यहोर्ने सहमति गरेका छन्। यसका लागि साझा कोष अर्थात् ‘बास्केट फण्ड’ निर्माण गरी खर्च व्यवस्थापन गर्ने व्यवस्था मिलाइएको छ। खर्चको अनुपात र व्यवस्थापनका लागि अन्तरपालिका कार्यविधिसमेत तयार गरिएको छ।
नेपाल नगरपालिका संघका अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाका अनुसार सबै स्थानीय तहले संयुक्त रूपमा खर्च व्यवस्थापन गर्ने सहमति गरेका छन्। जिल्लाका सबै स्थानीय तह एकजुट भएर साझा समस्या समाधानका लागि अघि बढेका हुन्।
पुल जडान हुने दुवैतर्फको पहुँचमार्ग निर्माण तथा स्थानीय व्यवस्थापनको जिम्मेवारी गजुरी गाउँपालिका–२ का वडाध्यक्ष द्रोण कँडेललाई दिइएको छ। अहिले पृथ्वी राजमार्गतर्फबाट त्रिशूली नदीसम्म पुग्ने र नदी पार गरेपछि कालुपाण्डे मार्गसँग जोडिने पहुँचमार्ग निर्माणको काम तीव्र पारिएको छ। पुल जडानस्थलमा डब्बाको मर्मत, रंगरोगन तथा अन्य प्राविधिक तयारी पनि भइरहेको छ।
पन्टुन पुल हिउँद याममा मात्रै सञ्चालन गर्न सकिने प्रकृतिको संरचना हो। वर्षायाममा नदीको बहाव बढ्ने भएकाले पुलका डब्बा निकालेर सुरक्षित स्थानमा राख्नुपर्ने हुन्छ। त्यसैले यो पुललाई स्थायी समाधानभन्दा पनि तत्कालका लागि यातायात सहज बनाउने अस्थायी विकल्पका रूपमा लिइएको छ।
पन्टुन पुल अभियानका मुख्य संयोजक एवं ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले पुल सञ्चालनमा आएपछि वैकल्पिक सडकको मर्मतसम्भार र स्तरोन्नति गर्न सहज हुने बताउनुभएको छ। उहाँले आगामी वर्षायामअघि नै वैकल्पिक सडक स्तरोन्नति गर्न र सम्भावना भएका स्थानमा बेलीब्रिज जडान गर्न संघीय सरकारसँग आग्रह गर्नुभएको छ। अस्थायी पुल सञ्चालनमा आएपछि अहिले वैकल्पिक सडकमा परेको सवारी चाप कम हुने र सडक मर्मत तथा सुधारका काम अघि बढाउन सहज हुने उहाँको अपेक्षा छ।
यसैबीच, असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट र धादिङको विशालटार जोड्ने पक्की पुलसमेत बगाएको थियो। त्यसपछि आरुघाट क्षेत्रमा बेलीब्रिज जडान गरिए पनि त्यहाँबाट ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। यसले धादिङ सदरमुकामसम्म अत्यावश्यक सामग्री पुर्याउन थप समस्या सिर्जना गरेको छ।
फुर्केखोलामा पन्टुन पुल सञ्चालनमा आएपछि धादिङबेँसी र पृथ्वी राजमार्गबीचको सडक सम्पर्क सहज हुनुका साथै जिल्लाका उत्तरी क्षेत्रका बासिन्दा, व्यापारी, विद्यार्थी, बिरामी तथा दैनिक आवतजावत गर्ने हजारौँ नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ। स्थायी पक्की पुल निर्माण नहुँदासम्म यातायात सम्पर्क कायम राख्न यो अस्थायी पुल महत्वपूर्ण विकल्प बन्ने देखिएको छ।







