भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, धादिङ र नुवाकोट लगायत अन्य जिल्लाको विवरण अझै आएन

59 पटक पढिएको

२३ कार्तिक २०८३, आईतवार ०६:०९ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका व्यक्तिमध्ये ३२ जिल्लाका दुई हजार २९४ जनाको नामावली राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको छ। तर बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका धादिङ ,नुवाकोट लगायत अन्य जिल्लाको  बेपत्ता व्यक्तिको यकिन विवरण भने अझै सार्वजनिक हुन सकेको छैन।

प्राधिकरणले सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भई आएका विवरणका आधारमा बेपत्ता व्यक्तिहरूको सूची सार्वजनिक गरेको जनाएको छ। सार्वजनिक सूचीमा सबैभन्दा बढी रसुवा जिल्लाका एक हजार ५८३ जना रहेका छन्।

त्यसैगरी धनकुटा, डडेल्धुरा, खोटाङ, भोजपुर, अछाम, कपिलवस्तु, जाजरकोट, सर्लाही, ललितपुर, कैलाली, महोत्तरी, बागलुङ, ताप्लेजुङ, जुम्ला, बाजुरा, कालीकोट, नवलपरासी पूर्व, उदयपुर, काभ्रेपलाञ्चोक, नवलपरासी पश्चिम, तेह्रथुम, रुकुम पूर्व, सप्तरी, बर्दिया, स्याङ्जा, रामेछाप, दाङ, सिन्धुपाल्चोक र सिन्धुलीका बेपत्ता व्यक्तिहरूको विवरण पनि सार्वजनिक गरिएको छ।

धादिङ र नुवाकोट लगायत अन्य जिल्लामा भने बेपत्ता व्यक्तिहरूको विवरण संकलन तथा दाबी गर्ने प्रक्रिया जारी रहेकाले सूचीमा समावेश हुन नसकेको प्राधिकरणले जनाएको छ। सम्बन्धित स्थानीय तहहरूले बेपत्ता व्यक्तिका परिवार तथा आफन्तलाई विवरण उपलब्ध गराउन र आवश्यक दाबी पेस गर्न सूचना जारी गरिरहेका छन्।

प्राधिकरणले सात देशका १७१ जना विदेशी नागरिकको बेपत्ता विवरणसमेत सार्वजनिक गरेको छ। विदेशी नागरिकको हकमा सम्बन्धित मुलुकका नेपालस्थित कूटनीतिक नियोग वा नेपाल हेर्नेगरी तोकिएका नियोगबाट कन्सुलर सेवा विभागमार्फत प्राप्त विवरणका आधारमा सूची तयार गरिएको हो।

प्राधिकरणले सार्वजनिक गरेको सूचीमा नाम समावेश भएका व्यक्तिहरू जीवित रहेको वा फेला परेको भए सम्बन्धित व्यक्ति स्वयं वा निजको एकाघरको परिवारका सदस्यले सात दिनभित्र दाबी पेस गर्न आग्रह गरेको छ।

स्वदेशी नागरिकको विवरण सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेको स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा तयार गरिएको हो। सूचीमा छुटेका जिल्लाको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएपछि थप सूचना प्रकाशन गरिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणको तथ्याङ्कअनुसार भदौ १० गतेको भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ४५७ जनाको मृत्यु भएको छ भने पाँच हजार २८५ जना बेपत्ता भएको विवरण छ। यस विपद्ले देशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको थियो।

प्राधिकरणले सार्वजनिक गरेको दुई हजार २९४ जनाको सूची यकिन भई प्राप्त भएका जिल्लाको विवरण हो। त्यसैले यो संख्या बाढीमा बेपत्ता भएका कुल व्यक्तिको अन्तिम संख्या भने होइन। धादिङ र नुवाकोटसहित बाँकी जिल्लाको विवरण प्राप्त भएपछि बेपत्ताको आधिकारिक अभिलेख थप अद्यावधिक हुने अपेक्षा गरिएको छ।