गजुरीको शिक्षा र संस्कृतिमा योगदान पुर्याएका आशादीप शाक्य ९५ वर्षको उमेरमा सम्मानित हुँदै
73 पटक पढिएको
धादिङ । वरिष्ठ शिक्षासेवी तथा सांस्कृतिक निर्देशक आशादीप शाक्यलाई ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले शैक्षिक तथा सांस्कृतिक जागरण विशेष सम्मान प्रदान गर्ने भएको छ।
ठाकुरप्रसाद शर्मा प्रतिष्ठान, गजुरी–१ धादिङको २०८३ असोज २४ गते काठमाडौंको कलङ्कीस्थित एडमार्क कलेजमा बसेको कार्यसमिति बैठकले शाक्यलाई नगद २५ हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गर्ने निर्णय गरेको हो।
९५ वर्षीय शाक्य गजुरी बजारका पुराना शिक्षासेवी हुनुहुन्छ। ललितपुरमा जन्मिनुभएका उहाँ २०१० सालदेखि गजुरीमा स्थायी रूपमा बसोबास गर्दै आउनुभएको छ। गजुरीको शैक्षिक तथा सांस्कृतिक विकासमा उहाँले लामो समयदेखि महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ।
वि.सं. २०२५ सालमा आदर्श माध्यमिक विद्यालय स्थापना गर्ने क्रममा उहाँले काठमाडौंबाट सम्भावित शिक्षकहरूलाई गजुरी ल्याउने तथा देउसीभैलो खेलेर आर्थिक स्रोत जुटाउने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
विद्यालयको शैक्षिक विकासमा सक्रिय रहँदै उहाँले २०२७ सालमा आदर्श माध्यमिक विद्यालय सञ्चालक समितिको सदस्य र २०३१ सालमा सचिवको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको थियो।
विद्यालयको वार्षिकोत्सवलाई शैक्षिक गतिविधिसँगै सांस्कृतिक कार्यक्रमका रूपमा विकास गर्न पनि उहाँको योगदान उल्लेखनीय रहेको छ। दुई दशकभन्दा बढी समयसम्म विद्यालयको वार्षिकोत्सवमा गीतकार, संगीतकार, गायक, हार्मोनियम वादक तथा नृत्य र प्रहसन निर्देशकका रूपमा उहाँले भूमिका निर्वाह गर्नुभएको थियो।
प्रतिष्ठानले विशेष परिस्थितिमा कार्यसमितिका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूको पहलमा एक वर्षका लागि स्थापना गरेको यो विशेष सम्मान शाक्यलाई प्रदान गर्न लागिएको जनाएको छ।
सम्मान अर्पण समारोह आगामी २०८३ मंसिर ४ गते शुक्रबार दिउँसो २ः३० बजे गजुरी–१, गजुरी बजारस्थित आदर्श माध्यमिक विद्यालयमा आयोजना हुनेछ।
धादिङ जिल्लाको पहिलो हाईस्कुलका संस्थापक प्रधानाध्यापक, धादिङका शैक्षिक व्यक्तित्व तथा पूर्व राज्यमन्त्री ठाकुरप्रसाद शर्माको प्रमुख आतिथ्यमा हुने समारोहमा सहभागी हुन प्रतिष्ठानले स्थानीय अभिभावक, शिक्षासेवी, समाजसेवी, शिक्षक, विद्यार्थी, आजीवन सदस्य तथा शुभेच्छुकहरूलाई आग्रह गरेको छ।
प्रतिष्ठानले शाक्यलाई प्रदान गर्न लागेको सम्मानलाई गजुरीको शैक्षिक तथा सांस्कृतिक विकासमा उहाँले पुर्याउनुभएको दीर्घकालीन योगदानको कदरका रूपमा लिइएको छ।







