पश्चिमी वायुको आंशिक प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
48 पटक पढिएको
काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख हुस्सु र कुहिरो लाग्ने गरेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ। मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रही अन्य तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति देशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ। तराई क्षेत्र, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने महाशाखाले जनाएको छ। रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागको एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।







