‘टंकप्रसाद–देवकी समाजसेवा सम्मान–२०८३’ धादिङका वरिष्ठ समाजसेवी माणिकलाल श्रेष्ठलाई समर्पण गरिने
328 पटक पढिएको
धादिङ । ठाकुरप्रसाद शर्मा प्रतिष्ठान, गजुरी–१ धादिङद्वारा स्थापित ‘टंकप्रसाद–देवकी समाजसेवा सम्मान–२०८३’ धादिङ जिल्लाका वरिष्ठ समाजसेवी माणिकलाल श्रेष्ठलाई समर्पण गरिने भएको छ ।
ठाकुरप्रसाद शर्मा प्रतिष्ठानकी कार्यसमिति सदस्य सरस्वती शर्मा, आजीवन सदस्यहरू अजित खतिवडा र शोभा खतिवडा नेपाल तथा उहाँहरूका अन्य दाजुभाइ दिदीबहिनी मिलेर आफ्ना बुवा, आदर्श मा.वि. का संस्थापक अभिभावक तथा सञ्चालक समितिका पूर्वकोषाध्यक्ष, धादिङ जिल्ला पञ्चायतका पूर्वसदस्य, नेपाल रेडक्रस सोसाइटी धादिङका पूर्वअध्यक्ष तथा वरिष्ठ समाजसेवी स्व. टंकप्रसाद शर्मा खतिवडा र आमा स्व. देवकी खतिवडाको सम्मान तथा स्मृतिमा ठाकुरप्रसाद शर्मा प्रतिष्ठानमार्फत् स्थापित सम्मान–पत्रसहित रु. २५,०००।– राशिको उक्त सम्मान वरिष्ठ समाजसेवी श्रेष्ठलाई समर्पण गर्ने निर्णय गरिएको हो । समाजसेवी, शिक्षासेवी तथा पिंडा गाविसका पूर्वअध्यक्ष प्रमोदराज रुपाखेतीको संयोजकत्वमा गठित सिफारिस समितिको सिफारिसका आधारमा प्रतिष्ठानले यो निर्णय गरेको जनाएको छ ।
नीलकण्ठ नगरपालिकास्थित जिल्ला सदरमुकाम धादिङबेँसी निवासी ८७ वर्षीय श्रेष्ठले वि.सं. २०१४ सालमा धादिङ जिल्लाको पुरानो सदरमुकाम सुनौलाबजारमा पुस्तकालय स्थापना गर्नुभएको थियो । सम्भवतः उहाँ धादिङ जिल्लाबाट काठमाडौँमा अध्ययन गरेर एसएलसी पास गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । जिल्लाको दोस्रो हाईस्कुल भैरवी मा.वि. का संस्थापकहरूमध्ये एक श्रेष्ठ सुनौलाबजारका पूर्वप्रधानपञ्च र नेपाल रेडक्रस सोसाइटी धादिङका पूर्वसभापति हुनुहुन्छ । धेरै सामाजिक संस्थाहरूमा रहेर काम गर्नुभएका श्रेष्ठ असी वर्ष नाघिसक्दा पनि समाजसेवामा निरन्तर सक्रिय रहनुभएका तथा स्वच्छ छविका व्यक्तित्व हुनुहुन्छ । हाल अस्वस्थ हुनुभएका आदरणीय वरिष्ठ समाजसेवी श्रेष्ठप्रति ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ
आगामी २०८३ मङ्सिर ४ गते आदर्श मा.वि. गजुरीमा आयोजना हुन गइरहेको पुरस्कार तथा सम्मान अर्पण समारोहमा विशिष्ट अतिथिहरूद्वय आदर्श मा.वि. सञ्चालक समितिका संस्थापक सचिव, धादिङ जिल्ला पञ्चायतका पूर्वसभापति तथा वरिष्ठ समाजसेवी पुरुषोत्तमदास श्रेष्ठ र आदर्श मा.वि. सञ्चालक समितिका संस्थापक सदस्य, बेनिघाटका तत्कालीन प्रधानपञ्च, धादिङ जिल्ला पञ्चायतका पूर्वसदस्य तथा वरिष्ठ समाजसेवी हेमनाथ थपलियाबाट वरिष्ठ समाजसेवी माणिकलाल श्रेष्ठलाई यो सम्मान समर्पण गरिने कार्यक्रम रहेको कुरा ठाकुरप्रसाद शर्मा प्रतिष्ठानका अध्यक्ष डा. सदानन्द कँडेलले जानकारी गराउनुभएको छ ।







