धादिङका डा. राजेन्द्र के.सी. न्यूयोर्क राज्य विधानसभा र धादिङ नेपाली समाज अमेरिकाद्वारा सम्मानित

92 पटक पढिएको

२९ कार्तिक २०८३, शनिबार २०:३२ सम्पादक: धादिङ न्यूज

न्यूयोर्क (अमेरिका) । धादिङका प्रतिष्ठित शिक्षाविद्, समाजसेवी तथा सामाजिक उद्यमी डा. राजेन्द्र के.सी. संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्य विधानसभाको विशेष सम्मानबाट सम्मानित हुनुभएको छ । उहाँलाई धादिङ नेपाली समाज, अमेरिकाले समेत विशेष सम्मान–पत्र तथा सम्मान–चिह्न  प्रदान गरेको छ ।

धादिङ नेपाली समाज, अमेरिकाको आयोजनामा शुक्रबार (नोभेम्बर १३, २०२६) न्यूयोर्कको ज्याक्सन हाइट्सस्थित ज्याक्सन मार्केट मा आयोजित विशेष स्वागत, सम्मान तथा भेटघाट कार्यक्रमका अवसरमा डा. के.सी.लाई उक्त सम्मान अर्पण गरिएको हो ।

शिक्षा, अनुसन्धान, सार्वजनिक प्रशासन, सामाजिक सेवा, उद्यमशीलता तथा विभिन्न शैक्षिक एवं सामाजिक संस्थाको स्थापना, सञ्चालन र कुशल नेतृत्वमा पुर्‍याउनुभएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै न्यूयोर्क राज्य विधानसभा क्षेत्र २७ का सदस्य माननीय साम बर्जर द्वारा हस्ताक्षरित विशेष सम्मानपत्र प्रदान गरिएको थियो । त्यसैगरी, शिक्षा तथा सामाजिक विकासका क्षेत्रमा पुर्‍याउनुभएको महत्वपूर्ण योगदानको कदरस्वरूप धादिङ नेपाली समाज, अमेरिकाले उहाँलाई विशेष सम्मान–पत्र तथा सम्मान–चिह्न हस्तान्तरण गरेको हो ।

धादिङ नेपाली समाज, अमेरिकाका अध्यक्ष सागर अधिकारीको सभापतित्वमा सम्पन्न उक्त समारोहमा अमेरिकास्थित नेपाली समुदायका अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा हामी नेपाली इन्टरनेशनलका अध्यक्ष नवराज के.सी., गोरखा समाजका अध्यक्ष खाम भट्ट, प्रा. डा. शेखर गिरी, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका का उपाध्यक्ष दिवाकर पाण्डेलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, सामाजिक अभियन्ता तथा नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै वक्ताहरूले डा. के.सी.को शैक्षिक, सामाजिक तथा संस्थागत नेतृत्वमा रहेको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै उहाँको सफलता धादिङ जिल्लाका साथै समग्र नेपाली समुदायका लागि गौरव र प्रेरणाको विषय भएको बताउनुभएको थियो । सम्मान ग्रहणपछि मन्तव्य राख्दै डा. के.सी.ले आफ्ना अनुभव तथा विचार साझा गर्दै शिक्षा, सामाजिक सेवा, नेतृत्व र प्रवासमा रहेका नेपाली समुदायबीच एकता तथा सहकार्यको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

समाजका महासचिव हरि गिरीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउनुहुने सम्पूर्ण अतिथि, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजका सल्लाहकार, कार्यसमितिका पदाधिकारी, सदस्य, शुभचिन्तक तथा उपस्थित सम्पूर्ण महानुभावहरूप्रति आयोजक संस्थाले हार्दिक आभार एवं धन्यवाद व्यक्त गरेको छ ।