धादिङमा पुस ९ देखि जिल्लास्तरीय अन्तरपालिका पुरुष भलिबल लिग हुने, १३ वटै पालिका भिड्ने
66 पटक पढिएको
धादिङ । धादिङ जिल्ला भलिबल संघको आयोजनामा आगामी पुस ९ गतेदेखि १२ गतेसम्म ‘जिल्लास्तरीय अन्तरपालिका पुरुष भलिबल लिग प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ। जिल्लाको खेलकुद क्षेत्रलाई चलायमान बनाउँदै भलिबल खेलको प्रवर्द्धन गर्ने उद्देश्यले संघले यो बृहत् लिग प्रतियोगिता आयोजना गर्न लागेको हो।
प्रतियोगितामा धादिङ जिल्लाका २ नगरपालिका र ११ गाउँपालिका गरी १३ वटै स्थानीय तहका पुरुष भलिबल टोलीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। जिल्लास्तरमा भलिबल खेलको समग्र विकास गर्ने, लुकेर रहेका प्रतिभावान् तथा उत्कृष्ट खेलाडीहरूको पहिचान गर्ने र स्थानीय खेलाडीहरूलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने उचित मञ्च प्रदान गर्ने मुख्य लक्ष्यका साथ प्रतियोगिता तय गरिएको धादिङ जिल्ला भलिबल संघका सचिव उत्तम भट्टले जानकारी दिए।
सचिव भट्टका अनुसार प्रतियोगितालाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि संघले आवश्यक व्यवस्थापकीय पक्ष तथा अन्य आन्तरिक तयारीका विषयमा तीव्र रूपमा छलफल तथा गृहकार्य अघि बढाएको छ।
जिल्लामा भलिबल खेलको विकासका लागि संघले विगतदेखि नै विभिन्न स्तरीय प्रतियोगिताहरू आयोजना गर्दै आएको छ। यसअघि गत वर्ष संघले ‘बागमती प्रदेशस्तरीय अन्तरजिल्ला मनोज स्मृति कप महिला भलिबल प्रतियोगिता–२०८२’ सफलतापूर्वक सम्पन्न गरेको थियो। उक्त प्रदेशस्तरीय प्रतियोगिताको फाइनलमा सिन्धुपाल्चोकलाई सोझो सेटमा पराजित गर्दै घरेलु टोली धादिङले शानदार उपाधि हात पारेको थियो।
गत वर्ष महिला भलिबलमार्फत प्रदेशस्तरमा सफल आयोजना र उपाधि जितेको संघले यसपटक पुरुष भलिबल लिगलाई प्राथमिकतामा राखेको हो। पालिकास्तरबाटै खेलाडी उत्पादन र प्रतिस्पर्धाको वातावरण सिर्जना हुने भएकाले यस प्रतियोगिताले धादिङको भलिबल खेलको स्तरोन्नति र विकासमा थप महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।







