पहाडमा पनि भव्यताका साथ मनाइँदै छठ, धादिङबेसीको अरुण खोला किनारमा सांस्कृतिक संगम

76 पटक पढिएको

३० कार्तिक २०८३, आईतवार १९:५६ सम्पादक: धादिङ न्यूज

धादिङ, २९ कात्तिक । तराईका जिल्लामा विशेष उल्लासका साथ मनाइने छठ पर्व पछिल्लो समय पहाडी जिल्लामा पनि विस्तार हुँदै गएको छ ।

छठ पर्वका लागि धादिङबेसीको अरुण खोलाको किनारमा आकर्षक सजावट गरिएको छ । सुगमटोलको भित्री बाटोमा पर्ने ओम शान्तिको भवन नजिकै पूजाआजाका लागि व्यवस्थापन समितिले विशेष तयारी गरेको हो । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि भक्तजनहरूलाई पूजाआजा गर्न सहज होस् भनेर छठघाट निर्माण तथा सरसफाइको प्रबन्ध मिलाइएको समितिले जनाएको छ । व्रतालुहरूले सूर्यलाई अर्घ्य दिनुअघि पूजास्थललाई झकिझकाउ पारेका थिए भने घाटमा पूजाका सामग्रीको व्यवस्थापन र सजावटमा भक्तजनहरू व्यस्त देखिन्थे ।

तराई भेगमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूले मनाउने छठ पर्व विस्तारै नेपालभर विस्तार हुँदै गएको छ । धादिङमा छठ पर्व व्रतालु परिवारको संयोजन तथा जिल्लामा बसोबास गर्ने मधेशी मूलका हिन्दू धर्मावलम्बीहरूको अग्रसरतामा सामूहिक रूपमा छठ पर्वको आयोजना गरिएको हो । जागिर तथा व्यापार–व्यवसायका सिलसिलामा तराईका विभिन्न जिल्लाबाट धादिङ आएका नागरिकसँगै स्थानीय बासिन्दा र अन्य समुदायको समेत पूजामा बाक्लो उपस्थिति रहेको छ । आफ्नो जन्मथलोबाट टाढा रहे पनि धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिन उनीहरूले यहाँ सामूहिक रूपमा छठ मनाउँदै आएका छन् ।

छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने विशिष्ट परम्परा छ । संसारका सबै धर्म र संस्कृतिमा उदाउँदो सूर्यलाई मात्र पूजिने प्रचलन रहे पनि छठ यस्तो पर्व हो, जसमा अस्ताउँदो सूर्यलाई समेत उत्तिकै श्रद्धाका साथ अर्घ्य दिइन्छ । यसले जीवनको उतारचढाव, सुख–दुःख र प्रकृतिको चक्रलाई समान रूपमा स्वीकार गर्नुपर्ने गहिरो दर्शन सिकाउँछ । साथै, बिना कुनै पुरोहित वा मध्यस्थकर्ता भक्तजनले सिधै प्रकृति (सूर्य र जल) सँग संवाद गर्ने भएकाले यो पर्वलाई प्रकृतिपूजा र आत्मशुद्धिको अनुपम नमुना मानिन्छ ।

चार दिनसम्म मनाइने यस पर्वमा नहाय–खाय, खरना, सँझिया घाट (अस्ताउँदो सूर्यलाई अर्घ्य) र भोरका घाट (उदाउँदो सूर्यलाई अर्घ्य) गरी चार चरणमा कठोर नियम र निष्ठाका साथ व्रत बसिन्छ । पूजामा केरा, उखु, नरिवल, ठेकुवा, भुसुवा, अदुवा, बेसार तथा बाँसका सामग्रीहरू प्रयोग गरिने भएकाले यसले स्थानीय कृषि उत्पादन र घरेलु हस्तकलाको प्रवर्द्धनमा समेत टेवा पुर्‍याउँदै आएको छ । सूर्य र छठी माताको आराधना गर्दै व्रतालुहरूले सन्तान प्राप्ति, पारिवारिक सुख, शान्ति, समृद्धि, चर्मरोग निवारण र सुस्वास्थ्यको कामना गर्छन् । कठोर व्रत, सरसफाइ र विधिपूर्वक गरिने पूजाका कारण छठलाई श्रद्धा, आस्था र निष्ठाको पर्वका रूपमा लिइन्छ ।

पछिल्लो समय तराईको संस्कृति र परम्पराका रूपमा परिचित छठ पहाडी जिल्लामा पनि उत्तिकै अपनत्वका साथ मनाउन थालिएको छ । धादिङमा तराईबाट आएका नागरिक र स्थानीयको सहभागितामा सामूहिक रूपमा मनाइएको छठले सांस्कृतिक एकता, आपसी भाइचारा र सामाजिक सद्भाव कायम राख्न महत्वपूर्ण सहयोग पुर्‍याएको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।