धादिङका वरिष्ठ पत्रकार कमलप्रसाद रिजाल ‘मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान’बाट पुरस्कृत हुने

89 पटक पढिएको

३० कार्तिक २०८३, आईतवार २०:२८ सम्पादक: धादिङ न्यूज

धादिङ, २९ कात्तिक । नेपाली पत्रकारिता र साहित्यिक क्षेत्रमा चार दशकदेखि अविछिन्न कलम चलाउँदै आएका धादिङका वरिष्ठ पत्रकार कमलप्रसाद रिजाललाई गृहजिल्लामै विशेष सम्मान गरिने भएको छ । गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक समेत रहेका रिजाललाई २५ हजार रुपैयाँ राशिको ‘मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान’ अर्पण गरिने भएको हो ।

ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले रिजालको दीर्घकालीन पत्रकारिता र साहित्यिक योगदानको उच्च कदर गर्दै उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो । प्रतिष्ठानका कार्यसमिति सदस्य इन्जिनियर अर्जुनकुमार श्रेष्ठले आफ्ना बुबा मदनदास श्रेष्ठको स्मृतिमा प्रतिष्ठानमार्फत यो पुरस्कार स्थापना गरेका हुन् । राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक उत्तम सिल्वालको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिको निर्णयअनुसार रिजाललाई पुरस्कृत गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष डा. सदानन्द कँडेलले जानकारी दिए ।

धादिङको गङ्गाजमुना गाउँपालिका–४, गुम्दीमा २०१५ सालमा पण्डित होमनाथ रिजाल र जीवमायाको सुपुत्रका रूपमा जन्मिएका रिजालले गोरखापत्र संस्थानमा मात्र ३० वर्ष सेवा गरेका छन् । साहित्य सिर्जनामा समेत उत्तिकै सक्रिय उनका हालसम्म २४ वटा कृति प्रकाशित भइसकेका छन् । गोरखापत्र, कान्तिपुर, नागरिक, अन्नपूर्ण दैनिकका साथै लोकान्तर र रातोपाटी लगायतका छापा तथा अनलाइन माध्यममा उनका दार्शनिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक कुरीतिविरुद्धका लेखरचना नियमित प्रकाशित हुँदै आएका छन् ।

धादिङको पहिलो माध्यमिक विद्यालय ‘आदर्श मावि’ गजुरीका संस्थापक प्रधानाध्यापक एवं पूर्वजलस्रोत राज्यमन्त्री  ठाकुरप्रसाद शर्माले शिक्षा क्षेत्रमा पुर्‍याएको ऐतिहासिक योगदानलाई जीवन्त राख्न पूर्वविद्यार्थीहरूको सक्रियतामा २०८१ सालमा यो प्रतिष्ठान स्थापना गरिएको हो । डा. कँडेलको अध्यक्षतामा गठित प्रतिष्ठानले स्थापना दिवसको अवसर पारेर शिक्षा, पत्रकारिता र समाजसेवामा विशिष्ट योगदान दिने प्रतिभाहरूलाई सम्मान गर्दै आएको छ ।

आगामी मङ्सिर ४ गते शुक्रबार गजुरीस्थित आदर्श माविमा आयोजना हुने विशेष समारोहमा पत्रकार रिजालसँगै अन्य प्रतिभाहरूलाई पनि सम्मानित गरिने प्रतिष्ठानले जनाएको छ । सोही कार्यक्रममा ‘आदर्श शिक्षासेवी पुरस्कार’ माणिकलाल श्रेष्ठलाई र ‘युवा प्रतिभा पुरस्कार’ गायक एवं भ्वाइस अफ नेपाल सिजन–६ का विजेता प्रोशेश पाण्डेलाई प्रदान गरिनेछ । साथै, आदर्श शिक्षक र एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रालाई समेत पुरस्कृत गरिने कार्यक्रम तय भएको छ ।

विसं २०२५ मा स्थापना भई सोही वर्षबाट प्रवेशिका परीक्षामा सहभागी गराउन थालेको आदर्श माविबाट हालसम्म करिब तीन हजार विद्यार्थीले विद्यालय तहको शिक्षा पूरा गरेका छन् । प्रतिष्ठानका अनुसार यस विद्यालयका पूर्वविद्यार्थीहरू मन्त्रिपरिषद् सदस्य, नेपाल सरकारका सचिव, उच्चपदस्थ प्रशासक, सभासद्, प्राध्यापक, चिकित्सक, इन्जिनियर, कलाकार, पत्रकार तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको उच्च नेतृत्वमा रहेर राष्ट्र सेवामा समर्पित छन् ।