घोप्टेभिरमा सुख्खा पहिरो पन्छाउन नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द

47 पटक पढिएको

६ मंसिर २०८३, शनिबार ०७:५१ सम्पादक: धादिङ न्यूज

चितवन, मंसिर ५ : नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत पर्ने चितवनको घोप्टेभिरमा लगातार सुख्खा पहिरो खसेर आवतजावतमा अवरोध पुग्नुका साथै मानवीय क्षतिसमेत भएपछि जोखिम न्यूनीकरणका लागि आजदेखि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले औपचारिक निर्णय सार्वजनिक गर्दै मिति २०८३ मंसिर ५ गते (२०८३।०८।०५) देखि अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म सडक आवागमन बन्द रहने पुष्टि गरेको हो । उक्त निर्धारित समयावधिमा घोप्टेभिर क्षेत्रमा झर्न सक्ने जोखिमयुक्त ढुंगा र माटो पन्छाउने कार्य तीव्र रूपमा सञ्चालन गरिनेछ ।

प्रशासनले स्पष्ट पारेअनुसार सडक बन्द रहने दैनिक पाँच घण्टाको अवधिमा सो खण्ड भएर चल्ने साना तथा ठूला सबै प्रकृतिका सवारीसाधनको आवागमन पूर्ण रूपमा ठप्प रहनेछ । यात्रु तथा सवारी चालकहरूलाई सम्भावित दुर्घटनाबाट बच्न र यात्रा व्यवस्थापन सहज बनाउन प्रशासनले तोकिएको समय तालिकाअनुसार नै यात्रा तय गर्न सबै सरोकारवाला तथा सर्वसाधारणमा अनुरोध गरेको छ ।