धादिङ क्षेत्र नं. १ का ६ वटै पालिकामा नेकपाको ‘राष्ट्रिय जागरण अभियान’ उद्घाटन, वडास्तरमा विस्तार गरिँदै
8 पटक पढिएको
धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को देशव्यापी ‘राष्ट्रिय जागरण अभियान’ अन्तर्गत धादिङको संघीय निर्वाचन क्षेत्र नं. १ का सबै स्थानीय तहमा पालिकास्तरीय अभियानको उद्घाटन सम्पन्न भएको छ।
निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने धुनिवेशी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, सिद्धलेक गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिकामा छुट्टाछुट्टै कार्यक्रमका बीच पालिकास्तरीय अभियानको औपचारिक शुभारम्भ गरिएको हो। पालिकास्तरीय कार्यक्रम सम्पन्न भएसँगै अब अभियानलाई प्रत्येक वडास्तरसम्म पुर्याउने कार्ययोजना समेत तय गरिएको नेकपाले जनाएको छ ।
विभिन्न पालिकामा आयोजित उद्घाटन समारोहलाई नेकपाका केन्द्रीय नेताहरू राजेन्द्रप्रसाद पाण्डे, गंगालाल तुलाधर, शालिकराम जम्कट्टेल लगायत जिल्ला तहका शीर्ष नेताहरूले सम्बोधन गर्नुभएको थियो।
सम्बोधनका क्रममा नेताहरूले संगठन सुदृढीकरण, पार्टीको नीति तथा कार्यक्रमबारे जनतालाई सुसूचित गराउन र समसामयिक राजनीतिक तथा जनजीविकाका सवालमा आम नागरिकसँग प्रत्यक्ष संवाद गर्न अभियान सञ्चालन गरिएको बताउनुभयो। उहाँहरूले देशमा बढ्दो महँगी, भ्रष्टाचार र जनविरोधी गतिविधिविरुद्ध खबरदारी गर्दै जनताको घरदैलोमा पुगेर गुनासा तथा सुझाव संकलन गर्न स्थानीय नेता–कार्यकर्तालाई निर्देशन समेत दिनुभयो।
नेकपाले संगठन विस्तार तथा जनपरिचालनका लागि देशभर सञ्चालन गरिरहेको दुई महिने राष्ट्रिय जागरण अभियान अन्तर्गत धादिङमा पनि जिल्ला, पालिका र वडा तहसम्मका कार्यक्रमहरूलाई तीव्रता दिएको छ। निर्मित कार्ययोजना अनुसार अब छिट्टै क्षेत्र नं. १ का सबै वडाहरूमा भेला, बैठक तथा घरदैलो कार्यक्रम सञ्चालन गरिने जिल्ला नेतृत्वले जानकारी दिएको छ।







