लागूऔषध विरुद्ध धादिङ प्रहरीको आक्रामक कारबाही : गल्छीमा ३५ रोपनीको गाँजा फडानी
81 पटक पढिएको
धादिङ, ५ मंसिर । जिल्ला प्रहरी कार्यालय धादिङ र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षा टोलीले धादिङको गल्छी गाउँपालिका वडा नं. ५ का विभिन्न स्थानमा अवैध रूपमा लगाइएको करिब ३५ रोपनी क्षेत्रफलको लागूऔषध गाँजा खेती फडानी गरी नष्ट गरेको छ ।
२०८३ मंसिर ५ गते खटिएको संयुक्त सुरक्षा फौजले गल्छी गाउँपालिका–५ स्थित दाङर्चा र ठुलो चौर क्षेत्रहरूमा गाँजाका बोटहरू फडानी गरी नष्ट गरेको हो ।
लागूऔषध नियन्त्रण तथा न्यूनीकरण अभियानअन्तर्गत सञ्चालन गरिएको उक्त विशेष कारबाहीमा कुल ४३ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो । जसमा जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीको कमाण्डमा २० जना, प्रहरी निरीक्षक प्रकाश दुबेको कमाण्डमा १० जना र सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस क्याम्प आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अपार प्याकुरेलको कमाण्डमा १३ जना सुरक्षाकर्मी सहभागी थिए ।
पछिल्लो समय ग्रामीण तथा विकट भेगहरूमा लुकीछिपी अवैध गाँजा खेती गर्ने क्रम बढेपछि प्रहरीले निगरानी र फडानी अभियानलाई तीव्रता दिएको छ ।
“लागूऔषधलाई ‘नाइँ’ भनौं, स्वस्थ र सुरक्षित समाजको निर्माण गरौं” तथा “लागूऔषध रहित समाज निर्माणका लागि प्रहरी र नागरिकले हातेमालो गरौं” भन्ने मूल नाराका साथ प्रहरीले समाजमा हुने यस्ता अवैध गतिविधि नियन्त्रण गर्न स्थानीय नागरिकहरूलाई समेत सहयोग र सूचना प्रदान गर्न अपिल गरेको छ ।







