ठाकुरप्रसाद शर्मा प्रतिष्ठानद्वारा अग्रज शिक्षासेवी र स्रष्टा सम्मानित, तेस्रो साधारण सभा सम्पन्न

63 पटक पढिएको

६ मंसिर २०८३, शनिबार २१:१९ सम्पादक: धादिङ न्यूज

धादिङ, ५ मंसिर  । ठाकुरप्रसाद शर्मा प्रतिष्ठानको आयोजनामा धादिङको गजुरीस्थित आदर्श माध्यमिक विद्यालयमा पुरस्कार, सम्मान तथा छात्रवृत्ति अर्पण समारोह र प्रतिष्ठानको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

२०८३ मङ्सिर ४ गते आयोजित समारोहमा विद्यालयका संस्थापक प्रधानाध्यापक तथा पूर्व राज्यमन्त्री ठाकुरप्रसाद शर्मा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला बिसुराल, विद्यालय सञ्चालक समितिका संस्थापक सदस्यहरू पुरुषोत्तमदास श्रेष्ठ र हेमनाथ थपलिया विशेष अतिथिका रूपमा रहनुभएको थियो ।

प्रतिष्ठानका १९४ जना आजीवन सदस्यहरू (आदर्श माविका पूर्व विद्यार्थी तथा शुभेच्छुक शिक्षासेवीहरू) बाट खडा गरिएको अक्षय कोषबाट प्रदान गरिने ‘आदर्श शिक्षक पुरस्कार–२०८३’ धादिङ जिल्लाका पहिलो सरकारी शिक्षक (वि.सं. १९२४–१९९९) प्रकाण्ड विद्वान् पण्डित स्व. पूर्णानन्द भट्टलाई मरणोपरान्त अर्पण गरिएको छ । प्रमुख अतिथि ठाकुरप्रसाद शर्माले सम्मान–पत्र र प्रतिष्ठानका अध्यक्ष डा. सदानन्द कँडेलले रु. २५ हजार राशिको थैली स्व. भट्टका नाति तथा बागेश्वरी मावि बैरेनीका पूर्व शिक्षक भरतमणि भट्टलाई हस्तान्तरण गर्नुभयो ।

पुरस्कार ग्रहण गरेपछि भरतमणि भट्टले स्व. पूर्णानन्द भट्टका अन्य नातिहरू सुदर्शन भट्ट र विष्णु भट्टलाई मञ्चमा बोलाएर पुरस्कारको रकम घर नलैजाने घोषणा गर्नुभयो । उहाँले हाललाई रु. २५ हजारको थैली प्रतिष्ठानमै राख्न दिएर पछि सबैको सल्लाहमा हजुरबुबाको नाममा कुनै रचनात्मक काम गर्ने बताउनुभयो ।

त्यसैगरी, सोही अक्षय कोषबाट प्रदान गरिने ‘आदर्श शिक्षासेवी पुरस्कार–२०८३’ आदर्श माविको विकासमा सबैभन्दा बढी आर्थिक सहयोग गर्ने, महत्वपूर्ण बैठकहरूको प्रबन्ध गर्ने तथा २०२७ सालदेखि लगातार २७ वर्षसम्म सञ्चालक/व्यवस्थापन समितिको अध्यक्ष भई योगदान पुर्‍याउनुभएका स्व. रामदास श्रेष्ठलाई मरणोपरान्त प्रदान गरियो । गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले सम्मान–पत्र र प्रतिष्ठानका सल्लाहकार तथा आदर्श माविका एसएलसी पहिलो ब्याच (२०२६ साल) का विद्यार्थी राजेन्द्रप्रसाद पाण्डेले रु. २५ हजारको थैली स्व. श्रेष्ठकी धर्मपत्नी अम्बिकादेवी श्रेष्ठलाई अर्पण गर्नुभयो ।

प्रतिष्ठानका सल्लाहकारहरू सुमनदास श्रेष्ठ (संस्थापक शिक्षक तथा सहायक प्रधानाध्यापक), राजेन्द्रप्रसाद पाण्डे, रुकु कार्की र जगन्नाथ तिमल्सिना तथा कार्यसमितिको अग्रसरतामा स्थापित ‘शैक्षिक तथा सांस्कृतिक जागरण सम्मान’ (रु. २५ हजार र सम्मान–पत्र) धादिङका वरिष्ठ शिक्षासेवी तथा सांस्कृतिककर्मी ९५ वर्षीय आशादीप शाक्यलाई प्रदान गरिएको छ । आदर्श मावि सञ्चालक समितिका संस्थापक सचिव पुरुषोत्तमदास श्रेष्ठले सम्मान–पत्र र पूर्व सहायक प्रधानाध्यापक सुमनदास श्रेष्ठले रु. २५ हजारको थैली हस्तान्तरण गर्नुभयो ।

यस्तै, प्रतिष्ठानकी कार्यसमिति सदस्य सरस्वती शर्मा तथा उहाँका भाइबहिनीहरू सुशीला खतिवडा अर्याल, शान्ति खतिवडा पाण्डे, शोभा खतिवडा नेपाल, आशिष खतिवडा, अजित खतिवडा, संजु खतिवडा रिमाल र सुजाता खतिवडा लोहनीद्वारा आफ्ना पिता तथा आदर्श मावि स्थापना गर्दा सक्रिय तत्कालीन धादिङ जिल्ला पञ्चायतका सदस्य एवं आदर्श मावि सञ्चालक समितिका कोषाध्यक्ष (२०२७ साल) र माताको स्मृतिमा स्थापित ‘टंकप्रसाद–देवकी समाजसेवा सम्मान–२०८३’ धादिङका ८७ वर्षीय वरिष्ठ समाजसेवी माणिकलाल श्रेष्ठलाई अर्पण गरिएको छ ।

सोही अवसरमा सम्पन्न प्रतिष्ठानको तेस्रो वार्षिक साधारण सभाले आगामी वर्षको वार्षिक कार्ययोजना पारित गरेको छ । प्रतिष्ठानका अध्यक्ष डा. सदानन्द कँडेलले निर्दिष्ट गन्तव्य, स्पष्ट रणनीतिक योजना र वार्षिक कार्ययोजनाअनुसार संस्था अघि बढिरहेको बताउँदै कामचलाउ तथा पटके (एड हक) शैलीबाट जोगिने प्रयास भइरहेको उल्लेख गर्नुभयो ।

सभालाई २०२५ साल पौष ५ गते आदर्श हाईस्कूल स्थापना हुँदा उपस्थित अग्रज व्यक्तित्वहरू ८० वर्षीय संस्थापक प्रधानाध्यापक ठाकुरप्रसाद शर्मा, ८० वर्षीय संस्थापक सचिव पुरुषोत्तमदास श्रेष्ठ, ८४ वर्षीय संस्थापक सदस्य हेमनाथ थपलिया, ८१ वर्षीय संस्थापक शिक्षक सुमनदास श्रेष्ठ, ९५ वर्षीय शिक्षासेवी आशादीप शाक्य, ९१ वर्षीय शिक्षासेवी एकराज उप्रेती तथा ८४ वर्षीय शिक्षासेवी चन्द्रमणि पाठकको सहभागिताले थप गरिमामय बनाएको थियो । काठमाडौं, धादिङ र चितवनमा रहेका आजीवन सदस्यहरूको पुनर्मिलन पनि सभाको विशेष आकर्षण रह्यो ।

समारोहमा पुरस्कार सिफारिस समितिका संयोजकद्वय सहप्राध्यापक डा. रामहरि लम्साल र चन्द्रमणि पाठक, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी, गजुरी वडा नं. १ का अध्यक्ष तारा भण्डारी, विव्यस अध्यक्ष रुपक गिरी, प्रधानाध्यापक सुरेशकुमार बस्नेत, वरिष्ठ समाजसेवी माणिकलाल श्रेष्ठ लगायत स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरूको उपस्थिति थियो ।

प्रतिष्ठानका तर्फबाट १९४ जना आजीवन सदस्यहरू (आदर्श शिक्षक पुरस्कार, आदर्श शिक्षासेवी पुरस्कार, आदर्श उत्कृष्ट विद्यार्थी पुरस्कार र आदर्श उत्कृष्ट छात्रा पुरस्कार), सरस्वती शर्मा र भाइबहिनीहरू (टंकप्रसाद–देवकी समाजसेवा सम्मान), ई. अर्जुनकुमार श्रेष्ठ (मदनदास उत्कृष्ट पत्रकारिता सम्मान र लक्ष्मणदास उत्कृष्ट युवा सम्मान) तथा रोजनाथ कँडेल (जीवनारायण स्मृति छात्रवृत्ति) का संस्थापकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ । साथै हल तथा आवश्यक व्यवस्थापनमा सहयोग गर्ने विद्यालय परिवार र गजुरीस्थित सम्पर्क व्यक्ति एवं आजीवन सदस्य ईश्वरराज गिरीप्रति अध्यक्ष डा. कँडेलले विशेष आभार प्रकट गर्नुभयो ।