मुन्सेको विस्फोटक शतकमा सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, फाइनलमा लुम्बिनी १० विकेटले पराजित
26 पटक पढिएको
काठमाडौँ, मंसिर ५ । ओपनर जर्ज मुन्सेको आक्रामक शतकको मद्दतले सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि उचालेको छ । पछिल्ला दुई सिजनका फाइनलमा क्रमशः जनकपुर बोल्ट्स र लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले तेस्रो सिजनमा भने उपाधि जित्दै इतिहास रचेको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल भिडन्तमा सुदूरपश्चिमले साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्यो । यस जितसँगै सुदूरपश्चिमले गत सिजनको फाइनलमा लुम्बिनीसँग व्यहोरेको हारको बदला समेत लिएको छ ।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै बिना कुनै विकेटको क्षति पूरा गर्यो । सुदूरपश्चिमको सहज जितमा स्कटल्यान्डका ब्याटर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गर्दै ५४ बलमा ८ चौका र १२ छक्कासहित अविजित १२५ रन बनाए । अघिल्ला दुई खेलमा खासै चल्न नसकेका मुन्सेले फाइनलमा भने ४९ बलमै शतक पूरा गर्दै टोलीलाई च्याम्पियन बनाए । उनलाई अर्का ओपनर विनोद भण्डारीले २७ बलमा तीन चौकासहित अविजित ३० रन बनाएर बलियो साथ दिए ।
मुन्से र विनोदबीच पहिलो विकेटका लागि १५८ रनको अविजित साझेदारी बनेको थियो । १०.४ ओभरमै सय रनको आँकडा पार गरेको सुदूरपश्चिमका ओपनरसामु लुम्बिनीका बलरहरू पूर्णतः निरीह बनेपछि सुदूरपश्चिमले ३९ बलअगावै जित निकाल्यो । यस सिजनको अघिल्ला दुई भेटमा लुम्बिनीविरुद्ध क्रमशः ८७ र १०८ रन मात्र बनाउन सकेको सुदूरपश्चिमले फाइनलमा भने उत्कृष्ट पुनरागमन गर्यो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । खराब सुरुआत गरेको लुम्बिनीले तेस्रो ओभरमै ओपनर आसिफ शेखलाई १ रनको व्यक्तिगत स्कोरमा गुमायो । उनलाई स्कट कुग्गेलिनले एलबिडब्लु आउट गर्दै सुदूरपश्चिमलाई सुरुआती सफलता दिलाएका थिए । अर्का ओपनर डार्सी शर्ट पनि १८ बलमा चार चौकासहित २१ रन जोडेर पावरप्लेमै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा बोल्ड भए ।
पावरप्लेमा २ विकेट गुमाएर ३७ रन जोडेको लुम्बिनीको इनिङ्स कप्तान रोहित पौडेल र विकेटकिपर निरोशन डिकवेलाले तेस्रो विकेटका लागि ३९ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरे । तर स्पिनर थरिन्दु रत्नायकेले डिकवेलालाई १७ बलमा २८ रन (एक चौका, एक छक्का) बनाएको अवस्थामा बोल्ड गर्दै साझेदारी तोडे । १५औं ओभरमा दिलीप नाथसँग तालमेल बिग्रिएपछि कप्तान रोहित पनि ३१ बलमा दुई चौकासहित ३० रन बनाएर रनआउट हुन पुगे । त्यसबेला लुम्बिनी १०८ रनमा ४ विकेट गुमाएको कठिन अवस्थामा थियो ।
यद्यपि, मध्यक्रमका ब्याटर दिलीप नाथ र अली शेखले अन्तिम पाँच ओभरमा आक्रामक ब्याटिङ गर्दै ४८ रन जोडेपछि लुम्बिनी सम्मानजनक योगफलसम्म पुग्यो । दिलीपले ३१ बलमा तीन छक्का प्रहार गर्दै अविजित ३९ रन बनाए भने १२ बल खेलेका अलीले दुई चौका र दुई छक्कासहित २४ रनको योगदान दिए । १८औं ओभरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रले स्पिनर इशान पाण्डेलाई बलिङमा ल्याउने निर्णय महँगो साबित हुँदा अलीले सोही ओभरमा दुई छक्कासहित १६ रन बटुलेका थिए ।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्गेलिनले दुई विकेट लिए भने हेमन्त धामी, थरिन्दु रत्नायके र कप्तान दीपेन्द्रसिंह ऐरीको नाममा समान एक–एक विकेट रह्यो । कसिलो बलिङ गरेका हेमन्तले चार ओभरमा मात्र २३ रन खर्चिए ।







