भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रको अवलोकनमा गगन थापा : फुर्केखोलामा पक्की पुल र पीडितलाई जग्गा उपलब्ध गराउन माग
31 पटक पढिएको
धादिङ, ६मंसिर : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्र धादिङका विभिन्न स्थानको स्थलगत अवलोकन गरी स्थानीयको अवस्था र पुनर्स्थापनाको प्रगतिबारे जानकारी लिनुभएको छ।
सभापति थापा विज्ञ टोलीसहित प्रभावित क्षेत्रमा पुग्नुभएको हो। धादिङको गल्छीदेखि बेनीघाट रोराङ गाउँपालिकासम्मका बाढी प्रभावित क्षेत्रको अवलोकन तथा स्थानीय नागरिकसँग अन्तरक्रिया गर्दै उहाँले विपद्को सुरुवाती समयमा सबैको चासो देखिए पनि विस्तारै विषय ओझेलमा पर्दा पीडितहरू समस्यामा परेको बताउनुभयो।
अवलोकनका क्रममा सभापति थापाले भन्नुभयो, “बाढी लगत्तै सबैको पहिलो प्राथमिकतामा रसुवा, नुवाकोट र धादिङ थियो, तर बिस्तारै प्राथमिकताहरू बदलिए। तीन महिना बितिसक्दा पनि पीडित नागरिकहरूको धेरै पीडा उस्तै छ।” प्रभावित क्षेत्रको स्थलगत अध्ययन र विज्ञ टोलीको सुझावसहित विस्तृत प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउने उहाँले जानकारी दिनुभयो।
भ्रमणका क्रममा सभापति थापाले धादिङको मलेखुस्थित फुर्केखोलामा जडान भइरहेको अस्थायी पन्टुन ब्रिजको स्थलगत अवलोकन गरी निर्माण प्रगतिको जानकारी लिनुभयो। भदौ १० को बाढीले फुर्केखोलाको पुल बगाएपछि प्रभावित धादिङवासीको आवागमन सहज बनाउन वैकल्पिक पन्टुन ब्रिज जडान भइरहेको हो। धादिङको जनजीवन, यातायात र विकाससँग प्रत्यक्ष जोडिएको यस पूर्वाधारप्रति भएको चासोले अस्थायी पुल छिटो सञ्चालनमा ल्याउन र स्थायी समाधान खोज्न थप ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ।
संघीय सरकार पुनर्स्थापनामा उदासीन देखिएको आरोप लगाउँदै सभापति थापाले फुर्केखोलानजिकै पक्की पुल वा बेलिब्रिज निर्माणको काम तत्काल अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
पुनर्स्थापनाका लागि बन्ने सडकको मार्ग तत्काल यकिन गरिनुपर्ने र विस्थापित परिवारको दीर्घकालीन बसोबासका लागि सार्वजनिक जग्गा खोजी गर्नुपर्ने सभापति थापाको भनाइ छ। सार्वजनिक जग्गा उपलब्ध नभएका ठाउँमा राज्यले निजी जग्गा खरिद गरेर भए पनि बाढीपीडितलाई जग्गा उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो।
अवलोकन तथा भेटघाट कार्यक्रममा धादिङ पुगेका सभापति थापालाई नेपाली कांग्रेस धादिङका जिल्ला सभापति रामनाथ अधिकारी, केन्द्रीय सदस्य उर्मिला रेग्मी, नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानालगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए। थापाले जिल्लाका नेता–कार्यकर्ताहरूसँग समेत भेटघाट गरी स्थानीय समस्या र पार्टीको भूमिकाबारे छलफल गर्नुभएको छ।







