बांस र निगालोको चोया बन्यो बांच्ने आधार
1130 पटक पढिएको
केशव अधिकारी
दुल्दानी ( धादिङ) ः जिवन निर्वाहका लागि निकै कष्ट र पिडाको सामना गर्दै आईरहेका दुल्दानीका चेपाङ समुदायले बांस र निगालोको चोयावाट आयआर्जन लिन थालेका छन ।
जग्गाको नाममा दुईरोपनी भिरालो खोरीया भएपनि आठ महिना लागेर फल्ने मकै वाहेक अरु केही नफल्ने भएपछि बर्षको ९ महिना खानेकुराको अभावसंग जुध्दै आईरहेका दुल्दानीका खिरमान चेपाङको जिवनमा अहिले परिवर्तन आउन थालेको छ । जिल्लाकै विकट मानिने दुल्दानी गाउं महादेवस्थान गाविसको वडा नम्बर ३ मा रहेको छ । विकासका कुनै पुर्वाधार पुग्न नसकेको दुल्दानी गाउंमा चार महिना अघि शान्ति नेपाल संस्थाले घर घरमा सोलार जडान गरिदिएपछि खिरमानको जिवनचर्या बदलिन पुगेको हो ।
‘घरमा सोलार जोड्नु अघि टुकी बत्ती वाल्नका लागि मट्टितेल नहुने भएकाले सांझ नपर्दै घर भित्र पसेर अंगेनाको आगोको भरमा खाना पकाउने र खाने काम गरिन्थ्यो । सोलार वल्न थालेपछि रात पनि दिन जस्तै भएकाले त्यहि उज्यालोमा वसेर रातभरी डोको बुनेर आयआर्जन लिन थालेको’– खिरमानले वताए । दिउंसोभन्दा रातको समयमा काम गर्न सजिलो लाग्न थालेकाले दिनभरी कच्चा सामान खोजेर रातभरी डोको बुन्ने गरेको उनी बताउंछन ।
दुल्दानीमा ६ घर परिवार चेपाङ समुदायको वसोवास रहेको छ । अनकन्टार भिरको छेउमै रहेको यहांका अधिकांश परिवारलाई सांझ विहान के खाने भन्ने समस्या रहेको छ । यस्तै समस्या भोगिरहेका मध्ये बांच्नका लागि अर्को विकल्प नदेखेका खिरमानको परिवारले बाँसका सामाग्री निर्माण गरी बेचविखन गर्न थालेपछि जीवीकोपार्जन सँगै आम्दानी समेत लिन थालेका छन् । बाँस र निगालोका चोयाबाट निर्मित डोको,डालो, नाङलो, भकारी र मान्द्रो वनाएर बजारमा लगेर बेचेर आएको पैसाले आफ्नो १३ जनाको परिवारलाई खान लाउन पुगिरहेको खिरमानले वताए । आंफुले अहिले मासिक ६ हजार आम्दानी लिन थालेको उनी बताउंछन ।
विगतमा पनि बाँस र निगालोका चोयाबाट सामान वनाएर बेचविखन गर्ने गरेको भएपनि अहिले दिनभरी अरु काम गरेर राती अवेर सम्म परिवारका सवैजना वसेर काम गर्दा दिनको ९ वटा सम्म डोको वुन्ने गरेको खिरमान बताउंछन । महिना भरी डोको बुनेर बिक्री गर्दा आएको पैसाले परिवारलाई खान लाउन पुग्न थालेकाले अहिले खानका लागि जंगली कन्दमुल, गिठ्ठाभ्याकुर,सिस्नुको मुण्टा खोजेर हिड्नु नपरेको उनको भनाई छ ।
घरमा बसेर नै काम गर्न सकिने सजिलो पेसा भएकाले दुल्दानीका खिरमानमात्रै होइन अरु चेपाङ परिवार पनि डोको डालो बनाउने काममा लागि परेका छन । कच्चा पदार्थका लागि आवश्यकपर्ने बाँस र निगालो गाउंमै पाइने भएपनि तयार पारिएको सामाग्री बिक्रीका लागि भने निकै टाढा सम्म धाउनु परेको गाउंवाससीको गुनासो छ । चितवनको लोथर गाविस र धादिङको महादेवस्थान गाविसको सबैभन्दा माथिल्लो सिमानामा पर्ने दुल्दानी गाउंवाट नजिकको वजार पुग्न पुर्वपश्चिम राजमार्गको लोथर पुग्न र धादिङको मलेखु आईपुग्न पनि दिनभरी लाग्ने चेपाङहरु वताउंछन ।
जिल्लाका अन्य गाउंवस्तिका चेपाङ समुदायको भन्दा दुल्दानीका चेपाङहरुको जिवनचर्या निकै कष्टकर रहेकाले गाउंवासीको उज्यालोमा बस्ने रहर पुरा गर्न प्रत्येक घरमा गैर सरकारी संस्था शान्ति नेपालले गत बर्षको मंसिरमा एक एक थान सोलार प्यानल जडान गरिदिएको थियो । चेपाङ समुदायको शशक्तिकरण र जागरणका लागि काम गरिरहेको उक्म्त संस्थाको पहलमा गाउंमा उज्यालो संगै आयआर्जनको वाटो पनि थपिएको संस्थाका सामाजिक विकास सहजकर्ता शालिग्राम ढकालले वताए । शान्ति नेपालले यहांका चेपाङले भोग्नु परेको खाद्य संकट न्युनिकरणका लागि भुईस्याउ खेतीका लागि विउ तथा प्राविधिक सहयोग समेत उपलव्ध गराएको छ ।
धादिङन्युजमा प्रकाशित भएका समाचार,लेख,रचना तथा अन्य कुनै पनि सामाग्री साभार गरेर कुनै पनि मिडियामा प्रयोग गर्न पाईनेछैन । यदि कुनै कारणवश साभार गर्नुपरेमा सामाजिक संजाल ( फेसबुक, टुविटर,व्लग तथा वेभसाईटमा ) प्रयोग गर्नुपरेमा अनिवार्य रुपमा हाम्रो श्रोत खुलाउनु पर्नेछ । सहयोगको अपेक्षा सहित धन्यवाद ।