एसएलसी: धादिङ उत्कृष्ट, रौतहट सबैभन्दा कमजोर

1169 पटक पढिएको

सम्पादक: Dhadingnews.com

Slc-Panika

काठमाडौ, – सरोकारवालाहरुले नेपालको शिक्षा नीति र परिक्षा प्रणाली नै दोषपूर्ण रहेकोले आमुल परिवर्तनको आवश्कता रहेकोमा जोड दिएका छन ।

न्यून एसएलसी नतिजालाई लिएर रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले मुलुकको शैक्षिक प्रणाली र नीतिमै समस्या रहेकोले एसएलसी परिक्षाको नतिजा खस्केको स्विकार गर्दे पुरै शैक्षिक संरचनामा पुर्नसंरचनाको आवश्यकता रहेको बताए । उनले भने– ‘हामी नयाँ नीति बनाउन लागेका छौ । विधेयक पनि आएको छ । अब आगामी वर्षदेखि परिक्षा प्रणालीमा पक्कै सुधार आउँछ ।’

साक्षात्कारमा शर्माले सबै दोष शिक्षकहरुलाई मात्र नदिन आग्रह गर्दै परिक्षा प्रणाली र शिक्षण सिकाईमा विशेष ध्यान दिनु पर्ने आवश्यकता औल्याए । उनले सरोकारवालाहरु सबै एउटै टेबलमा बसेर समस्याको समाधान खोज्नुपर्नेमा समेत जोड दिए ।

सामुदायिक विद्यालयमा प्रतिविद्यार्थी ७ हजार लगानी रहेको र निजी विद्यालयहरुमा ४९ हजारसम्म लगानी भएकोले निजी विद्यालयको नतिजा राम्रो हुनु स्वभाविक भएको भन्दै विज्ञान, अग्रेजी र गणित विषयमा यसवर्ष पनि कमजोरी देखिएकोले सुधारमा जोड दिए ।

उनले सामुदायिक विद्यालयबाट यसवर्ष धादिङ जिल्लाले सबैभन्द उत्कृष्ट र रौतहटले सबैभन्दा कमजोर नतिजा ल्याएको जानकारी दिँदै उत्कृष्टताको आधारमा पुरस्कृत गरिदै जाने बताए ।

परिक्षा नियन्त्रक विष्णु द्वारेले समस्या शिक्षा नीति र परीक्षा प्रणालीमा भएकोले सबै सरोकारवालाहरु बसेर निकास खोज्नु पर्नेमा जोड दिए । उनले भने– ‘शिक्षा नै गुणस्तरीय बनाउन सकिएन । रिजल्ट प्रकाशित भए पछि हो हल्ला गरेर मात्रै केही हुँदैन । समयमै बसेर निकास खोज्नु पर्छ ।’

प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले सरकारी विद्यालयहरुको नतिजा खस्किदै जाँदा सरकारले शिक्षा क्षेत्रमा लगानी घटाउन आटेको भन्दै लगानी बढाउन माग गरे । उनले शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकतामा जोड दिदै पब्लिक पार्टनसिपमा विद्यालयहरु सञ्चालन गर्न जोड दिए ।

शिक्षाविद्ध डा हृदयरत्न बज्राचार्यले एसएलसी परिक्षा प्रणाली नै असफल सिद्ध भइसकेकोले यसमा परिवर्तनको लागि ठूलो बहसको आवश्यकता रहेको बताए । उनले आन्दोलनको बखतमा नतिजा राम्रो आउनु र अरु बेला खस्किनुको पनि समिक्षा हुनु पर्नेमा जोड दिँदै एसएलसी नै सम्पूर्ण विद्यार्थीको ज्ञानको मापदण्ड नहुने तर्क गरे ।

हिसानका अध्यक्ष उमेश श्रेष्ठले लामो समयदेखि परिक्षा प्रणालीमा सुधारको आवश्यकता औल्याउँदै आए पनि सरकारले सुधारमा पटक्कै ध्यान नदिएको भन्दै शिक्षामा अतिराजनीतिक करण हुँदा पढाई हुन नसकेकोले पनि समस्या भएको दावी गरे । उनले पब्लिक पार्टनरसिममा रोजगार मुलक शिक्षा अघि बढाउनु पर्नेमा जोड दिए ।

यसवर्षको एसएलसीमा सबैभन्दा बढी अंक ल्याउन सफल काठमाडौको अक्सिडेन्टल पब्लिक स्कुलकी छात्रा दृष्टि गिरीले शिक्षा क्षेत्रमा अति राजनीतिकरण भएकोले पढाईको बातावरण बन्न नसकेकोले समस्या उत्पन्न भएको दावी गर्दै शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप नगरी अध्ययनको बातावरण निर्माण गर्नुपर्ने बताइन । उनले आफू आगामी दिनमा विज्ञान पढेर मेडिसिन पट्टीको एमवीवीएस पढ्ने चाहना सुनाइन । उनले असफल विद्यार्थीहरुलाई निरास नबनी निरन्तर लाग्न समेत सुझाव दिइन ।

अविभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षा नीति र परिक्षा प्रणालीमा खरावी रहेकोले समस्या उत्पन्न भएको भन्दै समस्या समाधानको लागि सरोकारवालहरुवीचको बृहद छलफलको आवश्यकतामा जोड दिए । उनले शिक्षामा राजनीतिकरण हस्तक्षेप तत्काल बन्द गर्न समेत आग्रह गरे ।

-दैनिक नेपालबाट