ओलीको उदय-पढ्नुहोस को हुन् ओली ?

705 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

10561762_803849522989247_869178611801765078_nकाठमाडौ, असार ३२ – करिब १५ वर्ष प्रमुख पदमा रहेर पार्टी सञ्चालन गरेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई हराउँदै एमाले अध्यक्षमा केपी ओली विजयी भएका छन् । असार १९ मा सुरु नवौं महाधिवेशनबाट नेपाललाई ४४ मतले पछि पार्दै ओली पार्टीको सर्वोच्च पदमा पुगेका हुन् । ओलीले १ हजार ४७ मत ल्याए भने नेपालले १ हजार ३ मतमा चित्त बुझाउनुपरेको छ ।

गत माघमा संसदीय दलको चुनावमा निवर्तमान अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै ओली संसदीय दलको नेता बनेका थिए । झन्डै ४२ वर्षदेखि सक्रिय राजनीतिमा रहेका ओली एकै वर्ष पार्टी र संसदीय मोर्चा दुवैको नेतृत्वमा पुगेका हुन् । साढे पाँच वर्षअघि भएको बुटवल महाधिवेशनमा ओली खनालसँग पराजित भएका थिए । उनी यसअघि पार्टीमा स्थायी समिति सदस्य र सरकारमा उपप्रधानमन्त्री भएका थिए ।

नवौं महाधिवेशनमा ओली र नेपाल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका थिए । परिणाम भने मिश्रति आएको छ । १४ पदाधिकारीमध्ये ओली समूहबाट दुई उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र दुई सचिव विजयी भएका छन् । नेपाल समूहबाट तीन उपाध्यक्ष, तीन सचिव र एक उपमहासचिवले जितेका छन् ।

ओली समूहबाट विजयी भएकाहरूमा उपाध्यक्ष वामदेव गौतम र विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल तथा सचिव प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ छन् । नेपाल समूहबाट उपाध्यक्षहरू युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल र सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्यले जितेका छन् । महासचिवमा पोखरेलले नेपाल समूहका सुरेन्द्र पाण्डेलाई ६ मतको झिनो अन्तरले हराएका हुन् । पोखरेलले १ हजार ३६ र पाण्डेले १ हजार ३० मत ल्याएका थिए ।

पदाधिकारीमध्ये सबैभन्दा बढी १२ सय ७० मत नेपाल समूहका गोकर्ण विष्टले ल्याएका छन् । विष्टपछि सबैभन्दा बढी मत प्रदीप ज्ञवालीले ल्याएका छन् । उनले ११ सय ५५ मत प्राप्त गरे । उपाध्यक्षमा सबैभन्दा बढी नेपाल समूहका भीम रावलले ल्याएका छन् । उपाध्यक्षमा निर्वाचित वामदेव गौतमको भन्दा रावलको १९ मत बढी छ । रावलको ११ सय ४३ र गौतमको ११ सय २४ मत छ । उपमहासचिवमा पनि नेपाल समूहकै भुसालको पहिलो मत आएको छ । उनले ओली समूहका विष्णु पौडेलको भन्दा १५ मत बढी ल्याएका छन् ।

ओली र नेपाल दुवै समूहको ‘डिजाइनर’ मानिएका केही नेताले भने हारेका छन् । ओली समूहका बलिया मानिएका प्रदीप नेपाल उपाध्यक्ष र शंकर पोखरेल उपमहासचिवमा पराजित भएका छन् । नेपालको समूह बनाउने मुख्य नेता सुरेन्द्र पाण्डे महासचिव र राजेन्द्र पाण्डेले उपाध्यक्षमा हारेका छन् ।

दुवै समूहले समावेशी उम्मेदवारी दिए पनि पदाधिकारीमा मधेसी नेताहरू विजयी हुन सकेनन् । उपाध्यक्षमा नेपाल समूहबाट उम्मेदवारी दिएका लालबाबु पण्डित र ओली समूहबाट उपाध्यक्षमा धर्मनाथप्रसाद साह र सचिवमा उम्मेदवारी दिएका रघुवीर महासेठ तीनै जना पराजित भए । महिला र आदिवासी जनजाति भने समेटिएका छन् । महिलामा ओली समूहबाट विद्या भण्डारी र नेपाल समूहबाट अष्टलक्ष्मी शाक्यले जितेका छन् । जनजातिबाट पृथ्वी सुब्बा गुरुङले सचिवमा जितेका छन् । उपाध्यक्षमा उठेका किरण गुरुङ, पर्शुमेघी गुरुङ, विष्णु रिमाल, वेदुराम भुसाल र केशवलाल श्रेष्ठ पराजित भए ।

को हुन् ओली ?

अध्यक्ष निर्वाचित केपी ओली एमालेका पुराना नेतामध्ये पर्छन् । २०२३ सालदेखि राजनीतिमा प्रवेश गरी पञ्चायतकालमा १४ वर्ष जेल बसेका ओली पार्टी प्रमुख नहुँदा पनि सधैं चर्चाको केन्द्रमा रहँदै आएका थिए । माधवकुमार नेपाल झन्डै १५ वर्ष महासचिव हुँदा होस् वा झलनाथ खनाल अध्यक्ष छँदा, दुवैको कार्यकालमा ओली पार्टीभित्र शक्तिशाली नेताका रूपमा रहे ।

ओलीको सबैभन्दा ठूलो शक्ति उनको बोली र अडान हो । तीखो उखानटुक्का जोडेर बोल्ने उनको शैली समकालीन राजनीतिका अन्य नेताको भन्दा फरक छ । राजनीतिक रूपमा आफ्ना अडानबाट हत्तपत्त पछि नहट्ने र स्पष्ट बोल्ने उनको शैली

छ । जुनसुकै विषयमा पनि कडा प्रहार र छिटो प्रतिक्रिया व्यक्त गर्ने शैलीका कारण उनी बेला-बेलामा आलोचनामा पनि पर्ने गरेका छन् । यति हुँदाहुँदै पनि पार्टीभित्र र बाहिर उनको लोकतान्त्रिक छवि छ ।

ओली माओवादीका खरो आलोचक हुन् । उनले माओवादीसँग संघर्षको नीति राख्दै आएका छन् । माओवादी आन्दोलनको सुरुवातकालदेखि नै उनले त्यसको लगातार विरोध गरिरहे । पार्टीभित्र कतिपय नेता माओवादीसँग सहकार्यको नीति राख्नुपर्ने अडानमा रहँदा पनि ओलीले आफ्नो विचार छोडेनन् । तर माओवादीलाई ठेगान लगाउने नाममा कांग्रेससँग लहसिने गरेको आरोप उनीमाथि बेला-बेलामा लाग्यो । पार्टीको लोकतान्त्रीकरण र सामूहिक नेतृत्व प्रणालीमा लैजाने प्रस्ताव उनले जनकपुरमा भएको सातौं महाधिवेशनमा ल्याएका थिए ।

साढे पाँच वर्षअघि बुटवल महाधिवेशनबाट त्यसैको थालनी भयो । उनी आफूलाई मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको प्रवक्ता मान्छन् । पाँचौं महाधिवेशनमा भण्डारीका विरुद्घ प्रस्ताव आउँदा त्यसको पक्षमा ओली थिए । तर पछि भण्डारीकै जबजको रक्षाको नाममा ओलीको ठूलो समूह तयार भयो । उनी आफ्ना समर्थकको राम्रैसँग रक्षा गर्छन् । कार्यकर्ताहरूलाई संरक्षण गर्ने उनको यो शैलीलाई पार्टीभित्र गुटबन्दी गरेको आरोप पनि लाग्ने गरेको छ । पछिल्लो समयमा उनले युवालाई पार्टीमा खुला आमन्त्रण गरे । त्यसको बलमा विकृत छवि भएका व्यक्तिहरू पनि पार्टी प्रवेश गरेको भन्दै त्यसको अपजस ओलीमाथि लाग्ने गरेको छ ।

केपी शर्मा ओली

    जन्म : २००८ मघ २१

पार्टीमा

    २०२३ : राजनीतिमा प्रवेश

    २०२७ : कम्युनिस्ट पार्टीको सदस्य र सोही वर्षदेखि भूमिगत

    २०२७ : पञ्चायतकालमा पक्राउ

    २०२९ : झापा आन्दोलन कमिटीको प्रमुख

    २०३० देखि २०४४ सम्म १४ वर्ष जेल

    २०४८ : युवासंघको संस्थापक अध्यक्ष

    २०४८ देखि निरन्तर पार्टीको स्थायी कमिटीको सदस्य

    २०५० : दासढुंगा घटना छानबिन समिति प्रमुख

    २०७० : माघमा एमाले संसदीय दलका नेता

सरकार र संसद्‌मा

    २०६४-२०६५ : उपप्रधान एवं परराष्ट्रमन्त्री

    २०५१-२०५२ : गृहमन्त्री

    २०४८, २०५१, २०५६ र २०७० : सांसद

-इ कान्तिपुर डट कमवाट