सभासदलाई बोल्ने मौकै मौका

681 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ca-meeting1काठमाडौं । पहिले सभासदले बोल्ने समय पाउँदैनथे, आजकाल बोल्ने सभासदको अभाव होला कि भनेर दलका नेताहरु चिन्तित हुने गरेका छन् ।

संविधानसभाको चालु बैठकमा बोल्न तीन सय २७ जना सभासदले नाम लेखाएका छन् । तीमध्ये एक सय ४० जनाले बोलेका छन् । अब बाँकी सभासदले बोल्न अझै चारपाँच दिन समय लाग्ने भएको छ ।

संवाद समितिको प्रतिवेदन उपर विगतमा भएको छलफलमा बोल्ने सभासदको संख्या धेरै नहोस् भनेर दलहरुले नियन्त्रण गर्ने गरेका थिए । तर, अहिले भने उल्टो भएको छ ।

संवाद समितिले पठाएको प्रतिवेदन उपर के निर्णय लिने भन्नेमा दलहरुबीच विवाद रहेको छ । त्यसैले संविधानसभा बैठक लम्बिएको हो ।

संवाद समितिको पहिलो प्रतिवेदनमा लामो छलफल भएको थियो । त्यसपछिका प्रतिवेदनहरुमा केही सभासदले मात्र बोल्ने मौका पाएका थिए ।

यसपटकको प्रतिवेदनमै केन्द्रीत भएर बोल्नुपर्ने केही छैन । प्रतिवेदनमा ‘सहमति भएन’ भन्ने बिवरण मात्र उल्लेख छ । तर, अब संवाद समितिको समग्र प्रतिवेदनमा के गर्ने र संविधान निर्माणलाई कसरी अगाडि बढाउने भन्ने विषयमा सभासदहरुले बोलिरहेका छन् ।

निरन्तर चलिरहेको संविधानसभाको वैठकले कुनै पनि निर्णय लिन सक्ने अवस्था छैन । सहमति खोज्न समय लाग्नाले सभासदहरुले अहिले बोल्ने मौका पाएका हुन् ।

सभाध्यक्ष सुवास नेम्वाङले समितिको प्रतिवेदनलाई टुङ्ग्याउने विषयमा शीर्ष नेताहरुले सहमति नगरेसम्म छलफल जारी राख्ने अडान लिएको स्रोतले बतायो ।

संवाद समितिले विवाद समाधान नगरी जस्ताको तस्तै संविधानसभामा पेश गरेको भन्दै सार्वजनिक रुपमा नेताहरुप्रति असंतुष्टि जनाउँदै आएका छन् ।

 -न्यूज भित्ताबाट