तेह्र विद्यार्थी सङ्गठनद्वारा पेट्रोलियम पदार्थको मूल्य घटाउन माग

572 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

patrolकाठमाडौँ, ८ पुस । तेह्र विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्नेलगायतका माग गर्दै  भौतिक, पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

मागहरूमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा दैनिक गिरावट आइरहेको हुनाले नेपालमा पनि मूल्य घटाउनुपर्ने, जनतालाई राहत महसुस हुने गरी यातायातको भाडा घटाउनुपर्ने, यातायातमा देखिएको सिन्डिकेट प्रणाली अन्त्य गर्नुपर्ने, सवारी भाडामा दूरी खण्डीकरण गरेर भाडा लिनुपर्ने, विद्यार्थी सहुलियत कडाइका साथ लागू गर्नुपर्नेलगायत रहेका छन् ।

सो अवसरमा मन्त्री निधिले यातायात व्यवसायीसँग छलफल गरेर जनतालाई राहत महसुस हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा र भाडा दर कम गर्ने बताउनुभयो ।

उहाँले सरकारसँग सवारी साधन नभएको हुनाले निजी यातायात व्यवसायीसँग परामर्श गरेर जतिसक्दो छिटो काम अघि बढाउने विश्वास दिलाउनुभयो ।

आजै ती विद्यार्थी सङ्गठनले मुख्यसचिव लीलामणि पौड्याललाई पनि ध्यानाकर्षण पत्र बुझाएका थिए । मुख्यसचिव पौड्यालले मूल्य घटाउन आफूले गृहकार्य गरिरहेको बताउनुभयो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष किशोरविक्रम मल्ल, नेवि सङ्घका कार्यवाहक अध्यक्ष मनोहरि श्रेष्ठ, अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष रमेश मल्ललगायतले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने भन्दै २४ घण्टे अल्टिमेटम दिएका छन् ।

अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले सरकारलाई लिएको २४ घण्टे अल्टिमेटमअनुसार भोलिसम्म पेट्रोलियम पदार्थ र भाडादर कम नगरे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिनुभयो ।