टेलिकमभित्रै एनसेलका एजेन्ट

555 पटक पढिएको

सम्पादक: Dhading News




काठमाडौं । निजी क्षेत्रको मोवाइल सेवा कम्पनी एनसेलले नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणको व्यवस्थापनलाई प्रभावमा पारी उपभोक्ता ठगी गरिरहेको खुलासा भएको छ । प्राधिकरणका उच्चतहका कर्मचारीकै मिलेमतोमा एनसेलले उपभोक्तासँग महंगो शुल्क लिने गरेको छ । ९० पैसा प्रतिमिनेट भनेर विज्ञापन गर्दैआएको एनसेलले पुराना ग्राहकहरूबाट प्रतिमिनेट ३ रुपैयाँ असुल्दै आएको रहस्य खुलेको छ । ६० सेकेन्डको एक मिनेट हुने भए पनि एनसेलले ५० सेकेन्डकै एक मिनेट बराबर पैसा काटेर उपभोक्ताबाट अरबौं रकम ठगी गरेको छ । एनसेलले कुन कुन प्याकेज कसरी संचालन गरिरहेको छ भनेर दूरसंचार प्राधिकरणको बोर्डले सात पटक माग गर्दा पनि प्राधिकरण ब्यवस्थापनले उपलब्ध गराउन नसकेको बुझिएको छ । दूरसंचार प्राधिकरणका निर्देशक आनन्द खनाल, उपनिर्देशक कैलाश न्यौपाने लगायतलाई एनसेलले मासिक लाखौं रुपैयाँ घुस दिएर उपभोक्ता ठगी गर्ने छुट पाएको स्रोतले बताएको छ । स्रोतका अनुसार प्राधिकरण बोर्डले सात पटक एनसेलले प्रयोग गरिरहेका सेवाको बारेमा विवरण पेश गर्न दिएको निर्देशन व्यवस्थापनले पालना नगर्नुले घुस खाएको कुरालाई पुष्टि गरेको छ । एनसेलले अदालतबाट मुद्दा जितेर अध्यक्ष भएका दिगम्बर झालाई पनि प्रभावमा पारिसकेकाले उसले मनपरी ढंगले ग्राहक ठग्ने छुट पाउँदैआएको छ । स्रोतका अनुसार अध्यक्ष झा पनि एनसेलको प्रभावमा परिसकेका छन् ।

10884534_760385097384924_1750255227_n१२ करोड रुपैयाँ लगानी गरी ११ अर्ब रुपैयाँ विदेश लान अनुमति मागेको एनसेलको फाइल राष्ट्रबैंक, प्राधिकरण र संचार मन्त्रालय घुमिरहेको छ । जसले निर्णय गरे पनि भोलिका दिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कठघरामा उभिनुपर्ने भएकाले लगानी पारदर्शी नभएको फाइल सदर गर्न सबै निकाय हच्किएका छन् ।
एनसेलले नियामक निकाय प्राधिकरणमात्र होइन, सरकारी स्वामित्वको नेपाल टेलिकमको गोप्य रणनीति लिनका लागि ठूलो रकम खर्च गर्दै आएको स्रोतले बताएको छ । नेपाल टेलिकम ब्यापार शाखाका उच्च कर्मचारीहरू नै एनसेलका एजेन्ट रहेको बुझिएको छ । टेलिकमका हरेक योजना कार्यान्वयन नहुँदै एनसेलमा पुग्ने गरेको छ । टेलिकमको ब्यापार शाखामा १५ बर्षदेखि कार्यरत आठ तहका कर्मचारी नरेन्द्र महर्जनले एनसेललाई सूचना दिने गरेको आरोप छ । आवधिक सरुवा हुने व्यवस्था टेलिकममा भए पनि महर्जन १५ बर्षदेखि व्यापार शाखाबाट सरुवा भएका छैनन् । एनसेलले टेलिकमका रणनीति थाहा पाउन उनलाई त्यहाँ राखेको स्रोतले बताएको छ । स्रोतका अनुसार महर्जनले टेलिकमका गोप्य सूचना लिक गरी एनसेलबाट ठूलो फाइदा लिएर निजी क्षेत्रको इन्टरनेट र केबुल सेवाको काम गर्ने सुविसु केवल नेटमा पनि महर्जनले लगानी गरेका छन् । सुविसुले अनुमति नै नलिई डिजिटल सेवा संचालन गरेपछि उसको अनुमतिपत्र नवीकरण हुन सकेको छैन । दुई बर्षदेखि अनुमति नवीकरण नगरी सुविसुले सेवा संचालन गरिरहेको छ । अनुमति नलिई डिजिटल सेवा संचालन गरेको उजुरी परेपछि संचार मन्त्रालयले दुई बर्षअघि सुविसुमा छापा मारेको थियो । त्यसयता उसको अनुमतिपत्र नवीकरण हुन सकेको छैन ।