असुरक्षित बन्दै प्रवास, अवसर र जोखिम उत्तिकै
892 पटक पढिएको
– नुवाकोट थानसिंहका विष्णुहरि भण्डारी २ वर्षअघि डीभी परेर अमेरिका पुगे । नेविसंघका केन्द्रीय सदस्यसमेत रहेका उनी वुडव्रिजस्थित आफ्नै डेरामा माघ १ गते बाथरुममा मृत भेटिए । उनले आत्महत्या गरेको आशंका गरिएको छ कारोवार डेलि डट कमले लेखेको छ ।
– दाङ घर भएका २६ वर्षीय मोहन ओलीले केही दिनअघि अमेरिकामा आत्महत्या गरे । नेपालमा हेल्थ एसिस्टेन्ट रहेका उनी ५० लाख दलाललाई बुझाएर ७ महिना लगाएर अवैध बाटो हुँदै अमेरिका छिरेका थिए ।
धेरै नेपालीका लागि सपनाको देश हो– अमेरिका । नेपालमा उच्च तहको जागिर छोडेर सुरक्षित भविष्य खोज्दै अमेरिका, अस्ट्रेलिया, क्यानडा जस्ता समृद्ध देश जानेहरूको संख्या पनि ठूलै छ । विदेश जाने र राम्रो कमाउने सपना बोकेर ‘सपनाको देश’ मानिने अमेरिका पुग्ने सबैले सपना पूरा गर्दैनन् भन्ने पछिल्लो उदाहरण बनेको छ, भण्डारी र ओलीको आत्महत्या ।
उनीहरूले किन आत्महत्या रोजे, त्यसको कारण त पुष्टि भएको छैन । विश्वका विभिन्न देशले गरेको अध्ययनअनुसार आत्महत्याको पछाडि एउटामात्र कारण हुँदैन । समाजशास्त्री इमाइल दुर्खिमले आत्महत्याको पछाडि व्यक्तिगत होइन, सामाजिक कारण मुख्य हुन्छ भनेका छन् । उनका अनुसार मानिस विभिन्न कारणले आत्महत्या गर्छन् । आफ्नो सामाजिक समूहसँग संलग्नता नभएको अनुभव गर्ने मानिसमा आत्महत्या सम्भावना बढी हुन्छ । समाजमा निश्चित सामूहिक नियम नभएको अवस्थामा संक्रमणकालमा गुज्रिरहेको समाजमा पनि आत्महत्याको दर बढि हुने देखिएको छ ।
राम्रो कमाइ हुने देशमै आत्महत्या गर्नेको संख्या बढ्दो छ । श्रम बेच्न खाडी मुलुक पुग्ने नेपालीको मृत्युदर डरलाग्दो रूपमा बढेको छ । आर्थिक वर्ष ०७१÷७२ को सुुरुको ६ महिनामै ४६१ नेपालीको विदेशी भूमिमा मृत्यु भएको सरकारी तथ्यांक छ । ४ वटा देशबाहेक संसारका अन्य देशमा नेपालीको मृत्यु जे कारणले भए पनि ‘नेचुरल डेथ’ भन्दै शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्छ ।
वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङ विदेशमा नेपालीको मृत्युदर बढ्नु चिन्ताको विषय भएको बताउँछन् । विदेशमा हुने मृत्युको वास्तविक कारण पत्ता लगाउन शव पोस्टमार्टम हुनुपर्नेमा उनको जोड छ । “विदेशमा हत्या, आत्महत्या या निधन के हो वास्तविकता खुल्दैन,” उनले भने, “त्यसैले मृत्युको कारण पत्ता लगाउन श्रमसम्बन्धी दुईपक्षीय सम्झौता गर्दा निधन भएमा पोस्टमार्टम गर्नुपर्ने सुनिश्चित गर्नुपर्छ ।”
नेपालले कतार, कोरिया, बहराइन र जर्मनीसँगमात्र दुईपक्षीय समझदारी गरेको छ । नेपालीहरू रोजगारी, अध्ययन, व्यापार, भ्रमण, उपचारका लागि विदेश जाने गर्छन् । नेपालबाट दैनिक १५ सय बिदेसिने गरेका छन् । विभिन्न बहानामा देश छोड्नेको संख्या बढेसँगै विदेशमा ज्यान गुमाउनेको संख्या पनि बढेको छ । यसले विदेशमा अवसरमात्र छैन, जोखिम पनि उत्तिकै देखिन्छ । “विदेशमा अवसरमात्र छैन, जोखिम पनि छ,” वैदेशिक रोजगार विज्ञ डा. गुरुङ भन्छन्, “विदेश पठाउनुअघि सरकार र विदेश पुगेपछि आफैं सचेत हुनुपर्छ ।”
ज्यान गुमाउने कहाँ कति ?
नेपालमा विदेशमा ज्यान गुमाउनेको तथ्यांक राख्न थालिएको धेरै भएको छैन । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले ०६४ देखि व्यवस्थित तथ्यांक राखेको पाइन्छ । बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेका अनुसार औसतमा प्रतिमहिना ७७ नेपालीको विदेशी भूमिमै मृत्यु हुने गरेको छ । यो तथ्यांकमा रोजगारीबाहेक पढ्न र अन्य कामका लागि विदेशमा मृत्यु भएकाहरू समावेश छैन । त्यसलाई पनि थप्ने हो भने यो संख्या बढी हुने सरोकारवाला बताउँछन् ।
पछिल्लो ६ महिनामा मात्र ४६१ नेपालीले विदेशमा ज्यान गुमाए, जसमा श्रम बेच्न खाडी मुलुक पुग्नेहरू छन् । सबैभन्दा बढी मलेसियमा २०७ जनाको मृत्यु भएको छ । साउदी अरबमा १२८, कतारमा ६९, दुबईमा २७, कुवेतमा, १५, बहराइनमा ६, दक्षिण कोरियामा ३ र जापान, ओमान, रुसमा १÷१ जनाको मृत्यु भएको छ । “मृत्यु हुनेमध्ये ४५८ पुरुष र ३ जना महिला छन्,” कार्यकारी निर्देशक काफ्लेले भने ।
यीमध्ये ११९ जनाको प्राकृतिक कारण, सुतिरहेको अवस्था कार्डियाक अरेस्टका कारण ११८ जना, आत्महत्याका कारण ५४ जना, कार्यक्षेत्रमा काम गर्दैगर्दा ५२ जना, सडक दुर्घटनाका कारण ४६ जना र हृदयघातका कारण ३३ जनाको मृत्यु भएको बोर्डको तथ्यांकमा उल्लेख छ । यसबाहेक ठूलो संख्यामा भारतमा रहेका नेपालीको पनि निधन भए पनि त्यसको तथ्यांक सरकारसँग छैन । भारतलगायत दुवई, कतार, मलेसियालगायतका देशबाटै अवैधानिक रूपमा तेस्रो मुलुक पुग्ने नेपालीको मृत्यु भए पनि त्यस्तो संख्या कति छ, विवरण सरकारसँग छैन ।
मृत्युको कारण शंकास्पद !
नेपालीहरू संसारका अधिकांश देशमा छन् । कतिपय देशमा वैधानिक रूपमा पुगेका छन् भने अवैधानिक बाटो भएर तेस्रो मुलुक पुग्नेहरूको संख्या पनि ठूलै छ । कमजोर आर्थिक अवस्था रहेका धेरै नेपालीको गन्तव्य खाडी मुलुक बनेको छ । ती देशमै नेपालीको मृत्युदर बढ्दो छ । त्यहाँ मृत्यु के कारणले भयो, त्यसबारे दिइने कारण विश्वसनीय नभएको सरकारी अधिकारी नै बताउँछन् ।
बोर्डका कार्यकारी निर्देशक काफ्ले श्रम गर्न जाने मजदुर अधिकांश समय कार्यस्थलमै रहने भए पनि मृत्युको कारण भने अरू नै उल्लेख हुनु शंकास्पद भएको बताउँछन् । “कार्यस्थलमै व्यस्त रहने मजदुरको अन्य कारण मृत्यु हुने सम्भावना न्यून छ,” उनी भन्छन्, “विदेशी रोजगारदाताले पठाएको विवरणमा कार्यस्थलमा मृत्यु हुनेको संख्या धेरै देखिनुले विवरण विश्वसनीय देखिँदैन ।”
सडक दुर्घटनाका कारण मृत्यु भएका र कार्यक्षेत्रमा काम गर्दैगर्दा मृत्यु भएका कामदारलाई मात्रै रोजगारदाता र त्यहाँको सरकारबाट क्षतिपूर्ति दिने प्रावधान छ, जसले गर्दा रोजगारदाताले कार्यक्षेत्रमा र सडक दुर्घटनामा निधन भए पनि अरू कारण नै उल्लेख गरेर क्षतिपूर्ति दिन आनाकानी गरेको पीडितहरूले गुनासो गर्ने गरेका छन् । “त्यसैले बोर्डको वार्षिक कार्यक्रममै यो विषयलाई समावेश गरी मृत्युको कारण र क्षतिपूर्तिका लागि पहल गर्ने कार्यक्रम बनाइएको छ,” उनले भने ।
क्षतिपूर्तिबारे बेखबर आफन्त
एकातिर रोजगारदाताले क्षतिपूर्ति दिन नखोज्ने र अर्कोतिर सरकारबाट पाइने क्षतिपूर्तिबारे समेत मृतकका आफन्त बेखबर देखिन्छन् । खाडी मुलुकमा रोजगारीका लागि जाने नेपालीले यहाँको भन्दा फरक मौसममा काम गर्नुपर्ने हुन्छ । दिनभर घाममा काम गर्नुपर्ने, ठूला–ठूला घर बनाउँदा भारी बोक्ने, उद्योगमा कठिनखाले काम गर्नुपर्ने, उच्च तापक्रममा भेडा चराउने जस्ता जोखिमपूर्ण काम गर्ने गर्छन् । जसका कारण कार्यक्षेत्रमा मृत्यु भए पनि रोजगारदाताले मृत्युको कारण भने रक्सी खाएको, प्राकृतिक रूपमै मृत्यु भएको भन्दै ‘मेडिकल रिपोर्ट’ तयार पार्न लगाउने गरेको मलेसियामा काम गरिरहेका एक कामदार बताउँछन् ।
विदेशमा मृतकको पक्षमा बोलदिने कोही नहुँदा गलत रिपोर्ट बनाएर क्षतिपूर्तिको दायित्वबाट रोजगारदाताले उन्मुक्ति पाउने गरेका छन् । कामकै सिलसिलामा घाइते भई अंगभंग भएकालाई रोजगारदाताले क्षतिपूर्ति दिर्नुपर्ने प्रावधान भए पनि अधिकांश नेपाली कामदारले त्यसबारे जानकारी नहुँदा क्षतिपूर्ति दाबी गर्दैनन् ।
त्यस्तै, नेपाल सरकारले पनि वैधानिक रूपमा वैदेशिक रोजगारीमा गएकाको मृत्यु भएमा मृतकको परिवारलाई ३ लाख दिने गरेको छ । मृतकका छोरा÷छोरीमध्ये जे भएपनि एक सन्तानलाई विद्यालय तहको शिक्षा निःशुल्क गरेको छ । त्यस्तै अंगभंग भएका र कडा रोग लागेकालाई ३ लाखसम्म सहायता दिने गरेको छ । यसबारे पनि धेरै कामदार अनभिज्ञ देखिन्छन् । रोजगारीका लागि मलेसिया जान हिँडेका सिरहाका सञ्जीव यादवले भने, “खै, त्यस्तो भएमा यहाँको सरकारले पनि क्षतिपूर्ति दिन्छ भन्ने त थाहा छैन ।”
यी सुविधाबारे सरोकारवालाहरूमा पर्याप्त जानकारी पुग्न नसकेको बोर्डको स्विकारोक्ति छ । “कतिपय मृतकका परिवार र अंगभंग भएका कामदार सहायता लिन बोर्डसम्म आइपुग्दैनन्,” कार्यकारी निर्देशक काफ्ले भने । पछिल्लो ६ महिनामा मात्र बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका र अंगभंग भएकालाई ७ करोड ५४ लाख सहयोग दिएको उनले जानकारी दिए ।