आजदेखि स्वस्थानी व्रतकथा सुरु हुँदै

122 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौं,२९ पुस, २०८१ ।  हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु हुँदैछ ।

आज देखि वैदिक सनातन धर्मावलम्बीले विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर पूजा आराधना सुरु गर्दैछन् ।

पौष शुक्लपूर्णिमाका दिनदेखि सुरु हुने श्री स्वस्थानी व्रतकथा  माघ शुक्ल पूर्णिमासम्म घर–घरमा पूजा र व्रत बसी यो पर्व मनाउने गरिन्छ । नेपाली हिन्दू धर्मावलम्बी महिलाहरुले एक महिनासम्म स्वस्थानी व्रत र माघ स्नान गर्छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ ।

एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो ।

पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याÞनकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास सदियौँदेखि चल्दै आएको छ । एक महिनाभर प्रत्येक दिन बेलुका हिन्दूधर्मावलम्बीहरूले घर–घरमा श्री स्वस्थानीको कथा वाचन तथा श्रवण गर्ने गर्दछन् । यो कथा महादेव र पार्वतीका साथै तपस्याबाट प्राप्त भएको गुणको व्याख्यामा केन्द्रित छ । सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाक्षा पूर्ण भएको र पछि उनले लोक– कल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीहरूको उद्धार गरेको कथाका रूपमा यो नेपाली समाजमा प्रचलित छ  । यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । एकतीस अध्याय रहेको स्वस्थानी व्रतकथाको बाह्रौँ अध्यायमा श्री स्वस्थानीको महिमाबारे वर्णन गरिएको र श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने र मनले चिताएको पुग्ने पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट स्वस्थानीमा देखाउन खोजिएको छ ।

एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मित छोरालाई एवं मित छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ । सय रोटी व्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा व्रतालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।


2 thoughts on “आजदेखि स्वस्थानी व्रतकथा सुरु हुँदै

  1. 🖇 Email- Operation #BB37. CONTINUE =>> https://telegra.ph/Get-BTC-right-now-01-22?hs=ed0af5fc8d5c4565d410339544a5a9d4& 🖇 says:

    uisbju

  2. 🔓 We send a transfer from user. Withdrаw =>> https://telegra.ph/Get-BTC-right-now-01-22?hs=ed0af5fc8d5c4565d410339544a5a9d4& 🔓 says:

    rfwkq1

Comments are closed.