गणेशमान बलिदान अभियान धादिङमा

577 पटक पढिएको

सम्पादक: Dhading News

10599490_660645000712345_5023060039072897386_n

धादिङ – कांग्रेसले विहिबारदेखि सुरु गरेको गणेशमान बलिदान अभियान शुक्रबार धादिङ आईपुगेको छ । राजधानीको सितापाईलादेखि रामकोट हुदै भिम ढुंगामा काठमाडौ जिल्ला कार्यसमितिका सभापति भिमसेन दास प्रधानले धादिङका सभापति रामनाथ अधिकारीलाई गणेशमानको तश्विर र पार्टीको झन्डा दिई अभियान हस्तान्तरण गरेका थिए । शुक्रबारनै धादिङको भन्ज्याङ र जीवनपुरमा सभा गरिएको थियो ।

 तत्कालिन राणाशासनको अन्त्य गर्ने संकल्प लिई वि.स २००१ साल असार ७ गते भद्रगोल जेल तोडेर भारत छिर्नु अघि गणेशमान सिंहले पैदलयात्रा गरेको ठाउँमा यो अभियान सुरु गरिएको हो । सिंहको जन्मसताव्दीको अवसरमा थालिएको अभियान काठमाडौ, धादिङ, गोरखा, लमजुङ, तनहूँ, कास्की, स्याङजा, पाल्पा, हुदै रुपेन्देहीमा पुगेर  समापन गरिने भएको छ । रुपेन्देहीबाट गणेशमान सिंह गोरखपुर हुदै भारत प्रवेश गरेका थिए । अभियानको शुभराम्भ बरिष्ठ नेता शेरवहादुर देउवा र पार्टी उपसभापति रामचन्द्र पौडेलले विहिबार शान्तिबाटिकामा सुरु गरेका थिए । त्यसलगतै भद्रगोल जेलमा सय दीप प्रज्वलित गरी गणेशमान सिंहको जन्मसताव्दीको शुभराम्भ गरिएको थियो । यो अभियान अन्तर्गत पार्टी कार्यालय सानेपामा २००७ सालदेखि ०१७ सालसम्म प्रजातन्त्रका लागि लडेका करिव तीन सय सेनानीहरुलाई सम्मान गरिएको थियो ।

 अभियान पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले सुरु गरेको हो । प्रतिष्ठानका संयोजक उपसभापति पौडेलले भ्रष्ट्राचारको अन्त्य, समावेशी लोकतन्त्रको जागरणका लागि यस्तो अभियान थालिएको बताए ।

  ‘गणेशमानजीले राजनीतिक क्रान्ति पुरा भयो, आर्थिक क्रान्ति सुरु गर्नुपर्छ भन्नुहुन्थ्यो, त्यसलाई हामीले अभियानको मुख्य केन्द्रविन्दु बनाएका छौ’ पौडेलले कान्तिपुरसंग भने,’समावेशी लोकतन्त्र, भ्रष्ट्राचार मुक्त समाजको निर्माणबाटनै आर्थिक क्रान्ति गर्न सकिन्छ भन्ने सन्देश दिदै अभियान थालिएको छ ।’ गणेशमान हिडेको, बास बसेको र खाना खाएको ठाउँमा पदयात्रा र सभा मार्फत अभियान चलाईएको छ ।