‘काल खोज्दै गएछु, धन्न फर्किएँ’
768 पटक पढिएको
बिजौरी, संक्रामका खिमबहादुर पुन (वसन्त) को ‘विदेश कल्पना’ यस्तै थियो। कमाएर फर्कनेको ‘बखान’ ले उनको विदेशमोह झनै बढाउँथ्यो। उनलाई लाग्थ्यो, ‘विदेशमा त साँच्चै पैसा फलेकै हुँदो हो!’
कल्पनामा झकिझकाउ लाग्ने विदेश भोगाइ ठ्याक्कै उल्टो भइदियो वसन्तका निम्ति। अहिले भन्छन्, ‘काल खोज्दै गएछु, धन्न बाँचेर फर्किएँ।’
गाउँको सानो झुपडीमा वर्षौं बिताए वसन्तले। नेपालमै रोजगारी गरेर बास फराकिलो पार्न नसकेपछि विदेशमा धेरै कमाएर सहरतिरै बास फेर्ने सपना बुन्न थाले। एक एजेन्टमार्फत दुई लाख रुपैयाँभन्दा बढी म्यानपावरलाई तिरेर गत मंसिर २६ मा मलेसिया उडे। विमानस्थलमा ‘तमिल’ नागरिक लिन आए। उनलै गाडीमा हालेर विशाल कम्पनीमा पुर्याए।
त्यहीँदेखि उनलाई विदेश सोचेभन्दा फरक लाग्न थाल्यो।
वसन्तलाई पहिले भनिएभन्दा फरक कामको जिम्मा दिइयो। उनलाई मलेसियाको रावाङस्थित एक गोदाममा छिराइयो। सुपरमार्केटमा क्लिनरको भिसा बोकेर पुगेका उनले ‘फोरक्लिप’ (सामान लोड–अनलोड गर्ने यन्त्र¬¬) चलाउनुपर्ने भयो। भनिएभन्दा काम फरक परेपछि कम्पनीमा असहमति राखेका मात्र के थिए, ‘बोस’ ले जिउँदै खाउँलाझैं गरे।
अब उनीसँग चुपचाप काम गर्नुको विकल्प थिएन। पछि थाहा पाए– आफूलाई कम्पनी भिसामा नभई मलेसियाका ‘दलाल’ ले बु‰नेगरी नेपालबाट पठाइएको रहेछ। तिनै दलालले उनलाई अवैध रूपमा एक गोदाममा काम गर्न छिराएका थिए।
मलेसिया पुगेको दुई दिनपछि उनी काममा लागे तर कम्पनी मालिकको ज्यादतिले टिक्नै नसक्ने स्थिति बन्यो। ‘काममा थोरै मात्र ढिला भए पनि मालिकले भकुर्नु भकुर्थ्यो,’ उनले सम्भि्कए, ‘कहिले त काम राम्रो भएन भन्दै सात दिनसम्म सस्पेन्डमा राखिदिन्थ्यो।’
कम्पनी मालिकको ज्यादति सहेरै उनले एक महिना कटाए। महिना मर्दा मालिकले सम्झौतामा उल्लेख भएभन्दा निकै कम तलब दिए। ‘यहाँबाट जाने बेला २६ दिनको १४ सय रिंगिट भनेर लगिएको थियो,’ उनले सम्भि्कए, ‘तलब बुझ्दा १ हजार रिंगिटमात्रै पाइयो।’
तलब किन कम दिएको भनेर सोध्ने हिम्मतसम्म थिएन उनीसँग। जति पाए, त्यत्तिमै चित्त बुझाए। त्यसमा पनि खाना, बत्ती पानी सबैको बिल आफैं तिर्नुपर्दा आधा पैसा सकिन्थ्यो। भनेजस्तो काम र तलब नपाएपछि उनी घर फर्कने योजना बनाउन थाले तर कुनै मेसो पाएका थिएनन्।
त्यसको केही दिनपछि वसन्त कम्पनीमै काम गरिरहेका बेला प्रहरीको ‘जत्था’ कम्पनीभित्र छिर्योथ। प्रहरीले वसन्तलगायत ३३ नेपालीलाई पक्राउ गर्योर। उनीहरूको भिसा हेर्यो।। भिसामा उल्लिखितभन्दा फरक काममा लागेको भन्दै प्रहरीले उनीहरूलाई ‘अवैध’ ठहर्याियो र हत्कडी लगाएर चौकी पुर्याभयो।
‘चप्पल लगाउन पनि दिएनन्, हत्कडी लगाएर बजारभरि हिँडाउँदै लगे,’ वसन्तले भने, ‘रिस उठ्यो कि लात्ताले भकुर्थे।’
रावाङकै चौकीको सानो कोठामा कोचिएर उनीहरूले एक रात भोकै काटे। कम्पनी मालिकले दया देखाउँदै चौकीसम्म खाना पुर्याचए पनि प्रहरीले खान दिएन। ‘मालिकले खाना ल्याइदिएपछि खुसी भएका थियौं,’ उनले भने, ‘तर पुलिसले सबै फालिदियो।’
२४ घन्टाको चौकी बसाइपछि वसन्तसहितको नेपाली टोलीलाई काजाङको सिमुरिया क्याम्पमा स्थानान्तरण गरियो। ‘क्याम्प त झन् यातनाकेन्द्र नै रहेछ,’ उनले भने, ‘त्यहाँभित्र दया भन्ने चिजै नहुँदो रहेछ।’ क्याम्प पुर्याझउनेबित्तिकै उनीहरूलाई सर्वांग नांगै पारेर सय–सयचोटि उठबस गराइयो। लात्ताले भकुर्दै खोरमा हालियो। पानी पर्दा होस् वा चरक्क पोल्ने घाम लाग्दा, हत्कडी लगाएर बाहिरै सुताइन्थ्यो। र, प्रत्येक दिन दुई घन्टा बाहिर घाममा हत्कडीसहित पल्टाइन्थ्यो।
सजाय यतिमै सीमित थिएन। दिनहुँ करेन्ट लगाएर चरम यातनासमेत दिइन्थ्यो। मानौं उनीहरू जघन्य अपराधमा समातिएका हुन्। ‘प्रत्येक दिन नांगै पार्थे अनि करेन्ट लगाएर यातना दिन्थे,’ उनले भने, ‘दिनहुँको चरम यातनाले शरीर गल्दै गएको थियो, आजीवन जेल बस्नुपर्ने डरले मन भाँचिँदै गइरहेको थियो।’
एकातिर चरम शरीरिक यातना, त्यसमाथि खाना नपाइने। एक गाँस चामल र नुनबिना पानीमा उमालिएको एक टुक्रा घिरौंला दिइन्थ्यो, त्यो पनि डुङडुङ्ती गन्हाउने। उनीहरूको दिनहुँको खाना यस्तै हुन्थ्यो। ‘एक गाँस चामल हुन्थ्यो, त्यो पनि गन्हाएर खानै नसकिने, पखालेर बल्लतल्ल निल्थ्यौं,’ वसन्तले भने।
‘नुन दिँदैनथे?’ अघिसम्म धाराप्रवाह बोलिरहेका वसन्तको बोली यो प्रश्नले रोकियो।
उनी भावुक बने। मलेसियामा उनले भोगेको अर्को पीडा थियो– गाईको मासु खानु।
‘भन्न पनि कसरी भन्ने जस्तो लाग्छ,’ उनले भने, ‘यहाँ गाईलाई देवी भनेर पूजा गरिन्थ्यो तर त्यहाँ पापीहरूले त्यसैको मासु खुवाए।’
जेलभित्र सातामा एक दिन मात्र उनीहरूले नुन चाख्न पाउँथे। त्यो पनि गाईको मासुसँग। ‘नुन खान नपाएर शरीर पूरै गलिसकेको हुन्थ्यो,’ उनले भने, ‘केही दिन भए पनि बाँचिएला भनेर खान्थ्यौं।’
उनीहरू धेरै रात सुत्न पाउँदैनथे। साँघुरो ठाउँमा कोचाकोच भएर बस्नुको पीडा त छँदै थियो, त्यसमाथि हरेक रातजसो सुतेकै ठाउँमा उनीहरूलाई भकुरिन्थ्यो। ‘कुटाइ खाने डरले निद पर्नै छाडेको थियो,’ उनले भने।
झन्डै १८ दिनपछि कम्पनीका मालिकले जेलमा अनुहार देखाए। मालिकको अनुहार देख्दा उनीहरूको मन हल्का भयो। धन्न मालिकले भनसुन गरेर जेलबाहिर निकाले। भिसाअनुसारकै काममा लगाउने भन्दै मालिकले छुटाएका रहेछन्।
‘बाहिर निक्लेपछि बाँच्ने आशा फेरि पलायो,’ उनले भने, ‘तर मालिकले फेरि पुरानै काममा फर्कायो, डराइडराइ काम गर्नुपर्थ्यो।’
केही दिनमै फेरि प्रहरी टोली कम्पनीमा छिर्यो । ‘त्यो बेला धन्न शौचालयमा लुकेर ज्यान बचाएँ,’ वसन्तले भने। १८ दिने जेल बसाइपछि त झन् उनलाई मलेसियामा बस्नै मन लागेन। ज्यान जोगाउनकै लागि भए पनि नेपाल फर्कनै पर्ने थियो।
संयोग नै मान्नुपर्छ, त्यही बेला अवैध नेपालीलाई घर फर्काउन थालियो। घरमा आफूलाई परेको सबै समस्या सुनाउँदै वसन्तले घर फर्कन लाग्ने ७० हजार रुपैयाँ पठाइदिन भने। घरबाट उक्त रकम प्राप्त भएपछि उनी चैत दोस्रो साता सकुशल फर्कन पाए। उनी अहिले नयाँ जीवन पाएको अनुभव गर्दैछन्।
‘म ठूलो कालबाट बाँचेर फर्किएँ,’ उनले भने, ‘अब जे गर्छु यतै गर्छु, अब विदेशको मोह कहिल्यै पाल्दिनँ।’
उनीसँगै गएका नारायणपुर– ३ का भीमबहादुर बोहरा पनि मलेसियामा हन्डर खाएर फर्किएका हुन्। धन्न वसन्तजस्तो उनले जेल बस्नु परेन। ‘म रातिको ड्युटीमा थिएँ, जेल बस्नु परेन,’ उनले भने, ‘नत्र मैले पनि अरू साथीले जस्तै यातना भोग्नुपर्थ्यो।’ उनले काम गर्ने कम्पनीको ज्यादति पनि जेलभन्दा कम थिएन। मालिकले कतिपटक भकुरे, यसको लेखाजोखा छैन। एकैछिन बसेको देखे भने भकुर्न थालिहाल्थे।
‘के कुरा गरौं, सहन सक्नेसम्मका सबै दुःख भोगेर आइयो,’ उनले भने, ‘कुटाइ नखाएको दिनै हुन्नथ्यो।’
उनी घोराही नगरपालिकाको सुरक्षा गार्ड थिए, ८ हजार तलब थियो। त्यतिले पुग्न छाड्यो, धेरै कमाउने लोभ जाग्यो। १४ सय रिंगिटमा सम्झौता भएर मलेसिया पुगेका उनको भिसा–पासपोर्ट कम्पनीले थुतेर राख्यो। कम्पनीले दुई दिनपछि भिसा फिर्ता दियो। भिसामा उल्लिखित १४ सय पारिश्रमिक मेटाएर १२ सय बनाइएको थियो।
‘जानेबित्तिकै भिसा खोसेर लगे,’ भीमले भने, ‘पछि हाम्रो स्यालरी घटाएर दिए।’
महिना बित्यो तर घटाएको तलब पनि सबै उनको हातमा परेन। कम्पनीले २६ दिनको ८–९ सय मात्र दिन्थ्यो। ‘एक रुप्पे बच्दैनथ्यो,’ उनले भने, ‘त्यहाँ पुगेकै दिनदेखि कसरी घर फर्किने भन्ने चिन्ता सुरु भइसकेको थियो।
सामान लोड–अनलोड गर्ने मेसिन चलाउने काममा लागेका उनले प्रतिघन्टा ९० पिस कार्टुन लोड–अनलोड गर्नुपथ्यो। कम नहुँदा कम्पनीले या त तलब काटिदिन्थ्यो, या सातासम्म सस्पेन्ड राखिदिन्थ्यो।
उनी पनि घरबाटै रकम पठाइदिएपछि फर्किएका हुन्। आफू विदेश जाँदा नगरपालिकाको जागिर दाइलाई थमाएका भीम पुनः त्यही काममा फर्किएका छन्।
भीम र वसन्त मात्र होइनन्, रोजगारीका लागि मलेसिया तथा विभिन्न खाडी मुलुक पुगेका धेरैजना ठगिएका उजुरी आइरहेका छन्। वैदेशिक रोजगारीमा जानेका लागि परामर्श दिन श्रम तथा रोजगार मन्त्रालयले जिल्लामा सञ्चालन गरेको परामर्श केन्द्रको तथ्यांकअनुसार यस्ता ठगीका मुद्दा प्रतिदिन दुई/तीनवटा आइरहन्छन्। यीमध्ये सबैभन्दा बढी मलेसियामा ठगिएका छन्। साउदी, कतार, दुबईमा ठगिएका मुद्दा पनि आउने गरेका छन्।
‘हामीकहाँ आएका मुद्दा हेर्ने हो भने सबैभन्दा बढी मलेसियाकै छन्,’ परामर्शदाता योगेन्द्र बस्नेतले भने, ‘यस्ता घटनामध्ये झन्डै आधा मुद्दा मलेसियाकै देखिएका छन् नागरिक दैनिकले खबर लेखेको छ । ।’