माघ १० देखि २० गतेसम्म धादिङबेसीमा लोक-सांस्कृतिक महोत्सव हुने

61 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, ३ माघ २०८१ । सदरमुकाम धादिङबेसीको खुल्लामञ्चमा यहि माघ १० देखि २० गतेसम्म धादिङ लोक-सांस्कृतिक महोत्सव २०८१ हुने भएको छ ।
 “लोकसंस्कृति प्रवर्द्धनको सार: पहिचान, पर्यटन र समृद्धिको आधार” भन्ने नाराका साथ आयोजना गरिएको यो महोत्सवले स्थानीय संस्कृति, परम्परा, कला र मौलिक पहिचानलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा अन्तरपालिका लोकदोहोरी प्रतियोगिता, विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुतीहरू तथा राष्ट्रियस्तरका कलाकारहरूको विशेष प्रस्तुती प्रमुख आकर्षणका रूपमा रहनेछन्। साथै, विभिन्न जातीय मौलिक खानाका परिकारहरू र घरेलु उद्योगका स्टलहरूले स्थानीय उत्पादन र सेवाहरूको प्रवर्द्धनमा टेवा पुर्याउनेछन्।
महोत्सवमा बालबालिकाका लागि विशेष रमाइलो मेलाको व्यवस्था गरिएको छ भने मौलिक भेषभूषा प्रदर्शनीले स्थानीय पहिरनको विविधता र मौलिकतालाई प्रस्तुत गर्नेछ। पर्यटन प्रवर्द्धनका लागि विभिन्न क्रियाकलापहरू पनि समावेश गरिने बताइएको छ।
महोत्सव आयोजकका अनुसार यो कार्यक्रमले स्थानीय उद्योग-व्यवसाय, पर्यटन, तथा सांस्कृतिक गतिविधिहरूको प्रवर्द्धन गर्दै धादिङलाई सांस्कृतिक र पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।
धादिङका विभिन्न स्थानबाट आउने समुदायहरूको उत्साहजनक सहभागिताले महोत्सवलाई थप रंगीन बनाउने अपेक्षा गरिएको छ। स्थानीय तथा राष्ट्रिय कलाकारहरूका सांस्कृतिक प्रस्तुतिले दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै धादिङको सांस्कृतिक पहिचानलाई थप उजागर गर्नेछ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक विकास तथा संचार केन्द्र धादिङको आयोजनामा हुन लागेको महोत्सवको संरक्षकमा नीलकण्ठ नगरपालिका रहेको छ भने प्रवर्धकमा धादिङ उद्योग बाणिज्य संघ र धादिङ चेम्बर अफ कमर्श रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *