कृषि मन्त्री अधिकारीलाई  ‘मायाको चिनो’नौ किलोको काउली

351 पटक पढिएको

१ माघ २०८१, मंगलवार २१:०३ सम्पादक: धादिङ न्यूज

बागलुङ,१ माघ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिसेरामा माघेसङ्क्रान्ति मेला तथा जैमिनी कप कार्यक्रमको प्रमुख अतिथि बन्न पुगेका कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीलाई  नौ किलोको काउली दिएर सम्मान गरिएको छ ।

कार्यक्रमको उद्घाटन सकेर काठमाण्डौं फर्कन लाग्दै गर्दा आयोजकले मायाको चिनो भन्दै मन्त्री अधिकारीलाई काउली दिएका हुन् । उक्त काउली जैमिनी नगरपालिका–२ का किसान गङ्गाधर सापकोटाले उत्पादन का हुन् । स्थानीय उत्पादनलाई मायाको चिनो तथा सार्वजनिक कार्यक्रममा प्रदर्शन गर्दा बजारीकरणमा टेवा पुग्ने अपेक्षासहित नगरपालिकाले यस्तो कार्य गर्दै आएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा  बताए।

‘जैमिनी नगरपालिकामा व्यावसायिक तरकारीखेती गर्ने किसानको सङ्ख्या धेरै छ, उहाँहरूले बर्सेनि तरकारी बेचेर लाखौँ आम्दानी गर्नुहुन्छ। त्यस्ता किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले मायाको चिनाका रूपमा प्रयोग गर्ने र अन्य बेला पनि खरिद गर्ने गरेको छ’, उपप्रमुख शर्माले भने, ‘किसानलाई थप हौसला मिल्ने हुँदा उहाँहरूको उत्पादनलाई पहिलो प्राथमिकतामा राखेका छौँ।’

नगरपालिकाले स्थानीय उत्पादनको बजारीकरण गर्नका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको त्यस अवसरमा जानकारी दिइयो। यसै वर्षदेखि सञ्चालन गर्ने गरी कृषि एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढिसकेको नगरपालिकाले जनाएको छ।

स्थानीय किसान प्रेमप्रसाद सापकोटाले नगरपालिकाले किसानलाई प्रोत्साहनका लागि गरेको यो कार्य सराहनीय रहेको बताए।